धनगढीको फाप्ला खेल मैदानमा जारी एसपिए कैलाली प्रिमियर लिग–३ मा सेमिफाइनल पुग्ने दुई टोलीको टुंगो लागेको छ ।
समूह ए बाट विजेता बन्दै गोदावरी नगरपालिकाको टिम र समूह बी बाट समूह विजेता बन्दै पुर्नवास नगरपालिका बी को टिम सेमिफाइनल पुगेका हुन । समूह ए मा रहेका पुर्नवास नगरपालिका ए र शुक्लाफाँटा नगरपालिका तथा समूह बी मा रहेका जोरायल गाउँपालिका र घोडाघोडी नगरपालिका प्रतियोगिताबाट बाहिरिएका छन ।
शुक्रबार सम्पन्न प्रतियोगीताको पाँचौ खेलमा गोदावरी नगरपालिका विजयी भएको छ । प्रतियोगितामा दोश्रो खेल खेलेको गोदावरीले ५ विकेटको जीत हाँसिल गरेको छ । पुर्नवास नगरपालिका ए भने लगातार दोश्रो खेलमा पराजित हुँदै प्रतियोगीताबाट बाहिरिएको छ ।
पुर्नवास नगरपालिका ए ले दिएको ५९ रनको लक्ष्य गोदावरी नगरपालिकाले ७.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । गोदावरीका लागि आयुश खड्काले अविजित २० रन बनाए । त्यस्तै गजेन्द्र बोहराले १७ रनको योगदान दिए । हृदय बिठारी ७ रनमा अविजित रहे । । पुर्नवास नगरपालिका ए का लागि पारस सुनार,पारस शाही र कप्तान अविनास सिंहले समान एक एक विकेट लिए ।
त्यसअघि पुर्नवास नगरपालिका ए ले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो । खराब मौसमका कारण ८ ओभरमा छोट्याइएको खेलमा पुर्नवास ए ले निर्धारित ८ ओभरमा ८ विकेट गुमाउँदै ५९ रन बनाएको थियो । पुर्नवास ए का कप्तान अविनास सिंहले सर्वाधिक ३१ रनको बनाए भने पारस पारस शाहीले १३ रन बनाए । गोदावरी नगरपालिकाका लागि शुशिल साउँदले करियरकै उत्कृष्ट बलिङ गरे । १ ओभर बलिङ गरेका साउँदले १ रन खर्चेर ४ विकेट चट्काए । उनी म्यान अफ दी म्याच चुनिए । त्यस्तै गजेन्द्र बोहराले २ विकेट लिदा खडक बोहराले १ विकेट लिए ।
त्यस्तै आज भएको दोश्रो खेलमा जोरायल गाउँपालिकालाई पराजित गर्दै पुनर्वास नगरपालिका बी पनि सेमिफाईनल पुगेको छ । जोरायमाथि ४७ रनको जित हात पार्दै पुर्नवास बी टीम अन्तिम चारमा पुगेको हो ।
पुनर्वास नगरपालिका बीको यो लगातार दोश्रो जीत हो भने जोरायल गाउँपालिका एक खेलमा जीत र एक खेलमा हार व्यहोर्दै प्रतियोगीताबाट बाहिरिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको पुनर्वास नगरपालिका बी ले प्रतियोगिताकै सर्वाधिक स्कोर बनाएको थियो ।
पुनर्वास बी ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९९ रन बनाएको थियो । पुनर्वास बी का लागि अघिल्लो खेलमा शतक प्रहार गरेका दिपक बोहराले आज पनि आक्रामक अर्धशतक प्रहार गरे । ४६ बल सामना गरेका बोहराले १० चौका र ३ छक्काको मद्दतले ८२ रन बनाए । बोहरा म्यान अफ दी म्याच चुनिए ।
त्यस्तै बसन्त सिंह कार्काीले ३१, आशिष लुहार २८, टेक रावतले २२ तथा सुवास ऐरले १० रन बनाए । जोरायल गाउँपालिकाक लागि बसन्त खत्रीले सर्वाधिक ३ विकेट लिए । संजय बोहरा, धर्मराज जोशी र दिपक रोकायाले समान एक एक विकेट लिए ।
पुनर्वास नगरपालिका बी ले दिएको २०० रनको लक्ष्य पछ्याउने क्रममा जोरायल गाउँपालिकाले पूरा २० ओभरमा ९ विकेट गुमाउँदै १५२ रन मात्र बनाउन सक्यो । जोरायल गाउँपालिकाका लागि सुनिल चन्दले उत्कृष्ट अर्धशतकीय पारी खेलेपनि जित दिलाउन भने सकेनन । चन्दले ४३ बलमा ६० रन बनाए भने कप्तान योगेश भाटले ३३ बलमा २८ रन बनाए । दिपक कप्डेलले १९ रन बनाउँदा बसन्त खत्री १५ रनमा रनआउट भए । पुनर्वास नगरपालिका बी का लागि हिक्मत महराले ४ विकेट चट्काए । त्यस्तै सागर भण्डारीले २,तथा भोजराज भट्ट र सचिन भट्टले समान एक एक विकेट लिए । शनिबारबाट समूह सी र समूह डी का खेलहरु हुनेछन ।
धनगढीको फाप्ला खेल मैदानमा आयोजना भैरहेको एसपिए कैलाली प्रिमियर लिगको यो तेश्रो संस्करण हो । तेश्रो संस्करणमा मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमी एसपिए रहेको छ । पहिलो संस्करण कैलालीको गोदावरी नगरपालिकाको टिमले जितेको थियो भने दोश्रो संस्करण डडेल्धुराको आलिताल गाउँपालिकाले जितेको थियो ।
फाल्गुन १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सुदूरपश्चिम प्रदेश भरीका १२ ओटा स्थानीय तहका टिमले सहभागीता जनाएका छन् । धनगढीको फाप्ला खेल मैदानमा आयोजना भईरहेको कैलाली प्रिमियर लिगको यो तेश्रो संस्करण हो । पहिलो संस्करण कैलालीको टिकापुर नगरपालिकाको टिमले जितेको थियो भने दोश्रो संस्करण डडेल्धुराको आलिताल गाउँपालिकाले जितेको थियो ।
तेश्रो संस्करणमा सहभागी १२ टोलीलाई चार समूहमा विभाजित गरिएको छ । समूह ए मा गोदावरी नगरपालिका, पुर्नवास नगरपालिका ए र शुक्लाफाँटा नगरपालिका, समूह बी मा घोडाघोडी नगरपालिका, जोरायल गाउँपालिका र पुर्नवास नगरपालिका बी, समूह सी मा त्रिवेणी गाउँपालिका, वेदकोट नगरपालिका र धनगढी उपमहानगरपालिका र समूह डी मा भीमदत्त नगरपालिका, लम्कीचुहा नगरपालिका र परशुराम नगरपालिका रहेका छन ।
लिग कम नकआउटमा खेलाइने प्रतियोगीतामा हरेक समूहको विजेता टोलीले सेमिफानल खेल्नेछ । प्रतियोगिताको विजेता टोलीले नगद २ लाख, उपविजेता टोलीले नगद एक लाख प्रप्त गर्नेछन् ।
सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार, बेष्ट बलर र ब्याटरले जनही १५÷१५ हजार, उदयमान खेलाडीले १० हजार र प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद दुई हजार पाँच सय प्राप्त गर्ने आयोजक कैलाली जिल्ला क्रिकेट संघले जनाएको छ ।