धनगढीमा सिप तथा रोजगार मेला सुरु भएको छ। धनगढी उपमहानगरपालिकाको आयोजनामा सिप तथा रोजगार मेला सुरु भएको हो। संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले मेलाको उद्घाटन गरेका छन।
सुदूरपश्चिमका ३९ स्थानीय तहबाट एक हजार ४० जना युवा सिप सिक्न धनगढी आएका छन्। उद्योग मन्त्री भण्डारीले सिप सिकेकाहरूलाई रोजगारीमा जोड्न आवश्यक रहेको बताए।
उनले भने, ‘सिप, रोजगारी आएपछि बेरोजगार र मुलुकमा नै केही गर्नेहरुको आकर्षण हुन्छ। मेलाबाट सिप प्राप्त गरेकाहरूको जोखि कोले गरेको छ ? उनीहरूको अवस्थाको बारेमा गम्भीर को छ ? अनिर्वाय छ। दक्ष जनशक्ति उत्पादनका लागि समय अवधि कस्तो हो ?’
नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घको प्राविधिक सहयोगमा धनगढीको खुलामञ्चमा तालिम सुरु भएको हो।
धनगढीमा एक महिनासम्म तालिम सञ्चालन हुने छ। अन्तिममा रोजगार दाताहरूलाई बोलाएर उनीहरूको बिचमा समेत अन्तरसंवाद हुने छ। बजारको माग अनुसार सिप सिकाई दक्ष बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको नगर प्रमुख गोपाल हमालले बताए।
उनले भने, ‘धनगढी उपमहानगरपालिकामा कार्यक्रम छ। तर, हामी बाहिर बसेका छौ। धेरै जिल्लामा तालिम चाहिएको छ। स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारले तालिम दिने गरेको छ। सबैलाई जोडेर तालिम गर्न आवश्यक छ। पहाडी जिल्लाहरूमा पनि तालिम दिन आवश्यक छ।’
धनगढीमा ४० दिनसम्म सञ्चालन हुने तालिममा भाग लिन सुदूरपश्चिमका ९ जिल्लाको ४७ पालिकाबाट चार हजार ८३० जनाले आवेदन दिएका थिए।
तर, ३९ पालिकाका एक हजार ४० जनालाई विभिन्न ८ क्षेत्रका २९ विषयमा तालिम दिइने छ। स्वदेशमै रोजगारका अवसर पाउन दक्ष जनशक्ति तयार गर्न मेला आयोजना गर्न लागेको हो।
३० दिन विभिन्न विधामा सिपमूलक तालिम दिइने छ भने ५ दिन जीवनोपयोगी र उद्यमशीलता सम्बन्धी तालिम दिइने छ।
यस्तै, दुई दिन रोजगारदाता र तालिम प्राप्त युवाहरूबिच अन्तरक्रिया गर्नका लागि रोजगार मेला आयोजना गरिने छ।