बाजुरा– जिल्लाको जगन्नाथ गाउँपालिका ४ की कल्या बडुवाल उमेरले ९५ बर्ष पुगिन । दुर्गम गाउँमा जन्मीएकी बडुवाललाई सुरुमा नागरिकताको प्रमाण पत्र के हो र यो लिदा के फाइदा हुन्छ भन्ने पनि थाहा थिएन र नागरिकता बनाउने चासो पनि देखाईकी थिईनन् ।
नागरिकता बनाएर ७० बर्ष उमेर पुगेकाले सामाजिक सुरक्षा भत्ता पाउने र आफूले नागरिकता नबनाएकाले नागरिकता बनाउनु पर्ने रहेछ भन्ने थाहा पाएपछि उनलाई नागरिकता बनाउने रहर जाग्यो । तर उमेरले ९५ पुगेकी बडुवाल सदरमुकाम गएर नागरिकता बनाउन सकेकी थिईनन् ।
आइतवार जगन्नाथ गाउँपालिकाको समन्वय तथा जिल्ला प्रशासन कार्यालय बाजुराको आयोजनामा गाउँमै २ दिने एकीकृत घुम्ती शिविर शुरु भए पछि शिविरको पहिलो नागरिकता बडुवालले पाइन । जगन्नाथ गाउँपालिकाका अध्यक्ष कालिवहादुर शाही र सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्रबहादुर मल्लले टिका र माला लगाई नागरिकताको प्रमाणपत्र हातमा दिएपछि ९५ बर्षिय कल्या बडुवाल निकै खुसी भईन । उनले गाउँमै नागरिकता पाउनु आफ्नो जिवनका लागि ठुलो खुसीको कुरा भएको बताईन । उनले भनीन् ‘नागरिकता बनाउन सदरमुकाम जान सक्ने थिएन् । गाउँमै पनि नागरिकता बनाउने आउँने रहेछन । गाउँमै नागरिकता पाउँदा म निकै खुसी छु ।’
बाजुराको जगन्नाथ गाँउपालिकामा गाउँ सिविर सञ्चालन भएपछि अहिले गाउँले पनि खुसी भएका छन । आइतवार देखि बाजुराको जगन्नाथ गाउँपालिकामा एकीकृत घुम्ती शिविर सञ्चालन भए पछि जगन्नाथ गाउँपालका र स्वामीकार्तिक खापर गाउँपालिका वडा नं १ र २ का नागरिकले समेत नागरिकताको प्रमाणपत्र, अपाङ्गता परिचय पत्र, स्वास्थ्य जाँच लगायतका सेवा पाएका छन ।
जगन्नाथ ५ का स्थानिय चक्र सार्कीले घर दैलोमै सवै सेवा पाए पछि खुसी लागेको प्रक्रिया दिए । स्थानिय सरकार आएपछि सरकार नजिकै छ भन्ने कुरा महशुस गराउन जिल्ला प्रशासन कार्यालय संग समन्वय गरी यो शिविरको आयोजना गरिएका जगन्नाथ गाउँपालिकाका अध्यक्ष काली बहादुर शाहीले बताएका छन ।
एकीकृत घुम्ती शिविरको आइतवार एक कार्यक्रमका विच जगन्नाथ गाउँपालिका वडा नम्बर ४ कि ९५ वर्षिया कल्या बडुवाललाई नागरिकता प्रदान गरी उद्घाटन गरिएको थियो । शिविरका लागि सहायक प्रमुख जिल्ला अधिकारी मल्ल, जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र विश्वर्कमा, लगायतको टोली जुड्डी पुगेको छ ।
शिविरमा आइतवार पहिलो दिन १ सय ९ जनालाई नारिकता वितरण, २८१ जनाको स्वास्थ्य परिक्षण, १६ जनाको ल्याव परिक्षण, ५१ जनाको अपाङ्ग परिचय पत्रका लागि निवेदन संकलन र ५७ जनाको भिडियो एक्सरे गरिएको जगन्नाथ गाउँपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले बताएका छन ।