आसन्न संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताका लागि धनगढी एफसीको सहायक प्रशिक्षकमा भिष्म भाट नियुक्त भएका छन् ।
सहायक प्रशिक्षक भाट र गो ड्रिमर्सका अध्यक्ष सुवास शाहीबीच सोमबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सहायक प्रशिक्षकमा नियुक्त भएपछि भाटले आफ्नै शहरको टिममा काम गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए । उनले टोलीलाई उत्कृष्ट नतिजा दिलाउन आफ्नो तर्फबाट पूरा कोसिस गर्ने बताए ।
यस्तै, धनगढी एफसीले देवेन्द्र तामाङ, रामचन्द्र वाझी र रन्दीप पौडेललाई रिटेन गरेको छ । देवेन्द्रलाई ‘ए’ क्याटोगोरी र रामचन्द्र तथा रन्दीपलाई ‘बी’ क्याटोबारीमा रिटेन गरेको हो ।
देवेन्द्र गत सिजन धनगढी एफसीको कप्तानसमेत रहेका थिए । तीनजना खेलाडीलाई रिटेन गर्न पाउने नियमअनुसार उनीहरुलाई रिटेन गरेको धनगढी एफसीले जनाएको छ ।
धनगढीले यसअघि नै कृतिशरत्न छुन्जुलाई मार्की प्लेयर नियुक्त गरिसकेको छ । क्लबले आइतबार २१ वर्षीय युवा अट्याकिङ मिडफिल्डरलाई मार्की बनाएको थियो। छुन्जुले यसअघि बुटबल लुम्बिनी एफसीबाट एनएसएल खेलेका थिए ।
पहिलो संस्करणको फाइनलमा धनगढी काठमाडौं रेजर्ससँग पराजित भएको थियो । यस्तै, गत संस्करणको फाइनलमा ऊ ललितपुर सिटीसँग स्तब्ध हुँदै उपाधि जित्न वञ्चित भयो ।
तेस्रो संस्करणको एनएसएल अक्सन यही १० फागुनमा हुँदैछ । लिगमा धनगढीसहित सात टोलीको सहभागिता रहनेछ ।