सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिकाे सभापतिमा राजनीतिक भागबण्डाका आधारमा उम्मेदवारी परेकाे छ ।
पद रिक्त रहेका प्रदेश सभाका चार वटा समितिकाे सभापतिमा सत्तारूढ नेपाली कांग्रेस, नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी(नाउपा) र प्रमुख प्रतिपक्षी दलले शनिबार भागबन्डाका आधारमा मनाेनयन दर्ता गरेका हुन् ।
सामाजिक विकास समितिकाे सभापतिमा एमालेका धर्मराज पाठक, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति सभापतिमा नाउपाका घनश्याम चौधरी , सार्वजनिक लेखा समितिमा माओवादी केन्द्रका अक्कल बहादुर रावल र विशेषाधिकार समितिकाे सभापतिमा तुलसी देवकाेटाले मनाेनयन दर्ता गरेकाे प्रदेश सभा सचिवालयले जनाएको छ ।
माओवादीका रावलले नेपाली कांग्रेसका प्रकाशबहादुर देउवाकाे प्रस्ताव र एमालेकि सन्ताेश कुमारी शर्माकाे समर्थनमा सार्वजनिक लेखा समितिकाे सभापतिमा मनाेनयन दर्ता गराएका छन् ।
एमालेका पाठकले नाउपाका कैलाश चाैधरीकाे प्रस्ताव र एकीकृत समाजवादीकी माया पन्तकाे समर्थनमा मनाेनयन दर्ता गराएका छन् ।
नाउपाका घनश्याम चाैधरीकाे प्रस्तावकमा एमालेका चक्र मल्ल र समर्थकमा एमालेकै राजेन्द्र सिंह रावल रहेका छन् ।
विशेषाधिकार समितिमा कांग्रेसकि देवकोटाले कांग्रेसकै मधुदेवी भारतीकाे प्रस्ताव र नाउपाका रामेश्वर चाैधरीकाे समर्थनमा मनाेनयन दर्ता गराएकी हुन् ।
अब सम्बन्धित समितिकाे बैठक बसेर आइतबार सभापति सर्वसम्मत चयन भएकाे निर्णय गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।