नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सुदूरपश्चिम संसदीय दलमा देखिएको मतभेद छलफलबाटै अन्त्य गर्नुपर्ने बताएका छन् ।
बुधबार कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उपमहासचिव पुनले पार्टीको सुझावअनुसार प्रदेश संसदीय दलले निर्णय गरेर विवाद समाधान गर्नुपर्ने बताएका हुन् । ‘यहाँको दलको निर्णय यहीँको दलको बैठकले गर्छ,’ उनले भने, ‘यसको अर्थ केन्द्रले केही गर्दैन भन्ने होइन । तपाईंहरू एकतावद्ध हुनुहोस् भनेर केन्द्रले निर्देशन दिन्छ ।’
तपाईंका कारण खगराज भट्टलाई दल नेता बनाउने अध्यक्षको निर्देशन कार्यान्वयन नभएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा पुनले दलभित्र मतभेद देखिएपछि छलफलबाट हल गर्न आफूले पहिले नै आग्रह गरेको बताए । ‘यहाँ दलभित्रै मतभेद देखिएपछि छलफलबाट हल गर्नुहोस् भन्दाभन्दै नेता फेरिदिनुभयो,’ उनले भने, ‘त्यसपछि त्यो विवाद केन्द्रमा पुग्यो । स्थायी कमिटीमा पनि पुग्यो । त्यहाँ साविकको र अहिलेको दल नेता तथा अरु सिनियर नेताको व्यवस्थापनको विषयमा छलफल भएको हो । फेरि पनि समस्या हल नभएपछि अध्यक्षले सिंगो दललाई बोलाएर काठमाडौंमा छलफल गर्नुभयो । त्यसपछि अध्यक्ष र महासचिवले सर्कुलर जारी गर्नुभएको हो । त्यो लागू भएन ।’
संसदीय दलमै विवाद भएपछि दलभित्र नै छलफल हुनुपर्ने बताउँदै उनले पार्टीको निर्देशनमा दलले निर्णय गर्नुपर्ने बताए । ‘मेरो कारणले सर्कुलर कार्यान्वयन लम्बियो भन्ने होइन,’ उनले भने, ‘दलको नेता फेर्ने निर्णय पनि अध्यक्षसँग, नारायणकाजीसँग, जनार्दन र मसँग सोझै जोडिने नेताहरूले बसेरै गरेका हुन् ।’
१२ माघ २०८० मा माओवादी केन्द्र, सुदूरपश्चिम संसदीय दलको नेताबाट खगराजलाई हटाएर मानबहादुर धामीलाई नेता चयन गरिएको थियो । भट्टलाई संसदीय दलको नेताबाट हटाउने निर्णयमा संसदीय दलका उपनेता अक्कलबहादुर रावल, मानबहादुर धामी, शिवसिंह ओली, ओमविक्रम भाट, लक्ष्मी विक र गीतादेवी मालले हस्ताक्षर गरेका थिए ।
दल नेता धामी उपमहासचिव पुन पक्षका हुन् । पुनले धामीलाई दलको नेता बनाउन भूमिका खेलेको चर्चा छ । सोही कारण अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशन नमान्नुमा पुनको भूमिका पनि महत्त्वपूर्ण रहेको सुदूरपश्चिमका माओवादी नेता बताउँछन् ।
दलको नेता धामीलाई बनाएको पाँच महिनापछि असारको पहिलो साता अध्यक्ष प्रचण्डले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरेका थिए । प्रचण्डले भट्टलाई सुदूरपश्चिम प्रदेशसभाको संसदीय दलका नेतामा पुनर्स्थापित गरेर प्रदेशमा पार्टीलाई एकताबद्ध बनाउन निर्देशन दिएका थिए । त्यो निर्देशन संसदीय दलले कार्यान्वयन गरेन ।
दोस्रोपटक प्रचण्डले फेरि सबै नेताहरूलाई बालुवाटार बोलाएर दलको नेता खगराजलाई बनाउन निर्देशन दिए । त्यो पनि लागू भएन । केन्द्रले २ भदौमा दलका नेता धामीलाई स्पष्टीकरण सोध्दै तत्काल दलको नेता खगराजलाई बनाउन निर्देशन दिएको थियो । तर, प्रचण्डको त्यो निर्देशन पनि कार्यान्वयन भएन ।