धनगढी उप–महानगरपालिकाले आगामी फाल्गुन ८ गतेदेखि सिप तथा रोजगार मेलाको आयोजना गर्दैछ । धनगढी उप –महानगरपालिकाको आयोजना तथा विभिन्न सरकारी तथा विकास साझेदार संघ संस्थाको सहकार्यमा मेला आयोजना हुने भएको हो । मेलामा १८ देखि ४० वर्षसम्मका एक हजार एक सय २२ जना युवालाई तालिम दिने लक्ष्य राखिएको छ ।
फाल्गुन ८ गतेदेखि सुरु हुने मेला चैत्र ८ सम्म चल्नेछ । विभिन्न ८ क्षेत्रका २९ विधामा तालिम लिनका लागि चार हजार सात सय २२ जनाले आवेदन दिएको धनगढी उप महानगरपालिकाका रोजगार संयोजक चन्द्र महराले बताए । मेलामा सुदूरपश्चिमका ८८ वटै स्थानीय तहको प्रतिनिधित्व देखिएको उनले बताए ।
आर्ट एण्ड क्राफ्ट डिजाइनिङ अन्तरगत फेसन डिजाइनिङका लागि ५० जना माग गरिएकोमा सबैभन्दा बढी ६३० जनाको आवेदन परेको छ । त्यस्तै सौन्दर्य अन्तरगत एडभान्स ब्युटिसियनका लागि पनि ५० जना माग गरिएकोमा ५८७ जनाको आवेदन परेको छ । शैक्षिक क्षेत्र अन्तरगत लेखा व्यवस्थापनमा ५० जना माग गरिएकोमा ४६३ जना र एडभान्स टेलरिङमा २५ जना माग गरिएकोमा ४१६ जनाको आवेदन परेको रोजगार संयोजक महराले बताए ।
अतिथि सत्कार क्षेत्र अन्तर्गत कफि बारिस्ताका लागि २५ जना माग गरिएकोमा ३७५ जनाको आवेदन परेको छ । आर्ट एण्ड क्राफ्ट डिजाइनिङ अन्तरगत सांस्कृतिक पोषाक निर्माणका लागि ७२ जना मागिएकोमा २२० जनाले आवेदन दिएको रोजगार शाखाको तथ्याङ्क छ ।
शैक्षिक क्षेत्र अन्तरगत ५० जना इसिडी शिक्षकका लागि माग गरिएकोमा २१८ जनाले फाराम भरेका छन् । मेलामा अटोमोबाइल्सतर्फ विद्युतीय कार मर्मतमा २५ जनाको कोटा तोकिएकोमा १२४ जना,सौन्दर्य क्षेत्र अन्तरगत हेयर कटिङ स्टाइलिङमा ५० जना माग गरिएकोमा ११७ जनाले आवेदन दिएका छन् । मोटरसाइकल र स्कुटर मर्मत तालिमका लागि २५ जनाको कोटा तोकिएकोमा ८६ जनाको आवेदन परेको छ ।
त्यस्तै निर्माण क्षेत्र अन्तर्गत डकर्मीका लागि ५० जना माग गरिएकोमा ५६ जना आवेदक पुगेका छन् । टायल तथा मार्बल फिक्स्चरमा पनि ५० जना नै माग गरिएकोमा ३४ जनाले मात्रै आवेदन दिएका छन् । फर्निचर,विल्डिङ पेन्टर र प्लम्बिङमा समान २५/२५ जनाको लागि आवेदन खुलाइएकोमा फर्निचरलागि २६ जना, प्लम्बिङमा ३७ जनाले आवेदन दिएका छन् भने विल्डिङ पेन्टरमा भने २० जनाको मात्रै आवेदन परेको छ ।
अतिथि सत्कार क्षेत्र अन्तरगत फास्टफूड, वेटर र रिसेप्सनिष्ट/फ्रन्ट डेस्कका लागि समान ५०/५० जनाको कोटा खोलिएकोमा फास्टफूडका लागि १९० र रिसेप्सनिष्ट/फ्रन्ट डेस्कका लागि १०८ जनाको आवेदन पर्दा वेटरका लागि भने ३१ जनाले मात्रै आवेदन दिएका छन् ।
त्यस्तै इलेक्ट्रिकल र मेकानिकल क्षेत्रमा वेल्डिङ र विल्डिङ ईलेक्ट्रिकल वायरिङका लागि समान २५/२५ जना र रेफ्रिजरेसन/एसी प्राविधिक, ईलेक्ट्रोनिक्स मोबाइल सिसिटिभी मर्मत तर्फ समान २५/२५ जनाको कोटा तोकिएकोमा वेल्डिङका लागि २५ जना र विल्डिङ ईलेक्ट्रिकल वायरिङका लागि ११८ जनाको आवेदन परेको छ भने रेफ्रिजरेसन÷एसी प्राविधिकका लागि ११९ जनाको आवेदन पर्दा ईलेक्ट्रोनिक्स मोबाइल सिसिटिभी मर्मतका लागि १०० जनाको आवेदन परेको शाखाले जनाएको छ ।
सूचना प्रविधि आइसिटी क्षेत्र अन्तरगत डिजिटल मार्केटिङ र हार्डवेयर/नेटवर्किङका लागि समान ५०/५० जना तथा ग्राफिक डिजाइनरमा २५ जनाको कोटा खोलिएकोमा डिजिटल मार्केटिङका लागि १८५ जना, हार्डवेयर/नेटवर्किङका लागि ९५ जना तथा ग्राफिक डिजाइनरका लागि १५८ जनाले आवेदन दिएका छन् ।
अटो क्याडतर्फ २५ जनाको माग गरिएकोमा ७२ जना आवेदक पुगेका छन् । शैक्षिक क्षेत्र अन्तरगत पुरोहितका लागि २५ जनाको लागि आवेदन खोलिएकोमा २२ जना मात्रै पुगेका छन् । सौन्दर्य क्षेत्र अन्तरगत नाईका लागि २५ जना माग गरिएकोमा ३५ आवेदक पुगेका छन् भने आर्ट एण्ड क्राफ्ट डिजाइनिङ अन्तर्गत २५ जना माग गरिएकोमा ५५ जना पुगेको रोजगार शाखाले जनाएको छ ।
आवेदक कम भएको कोटामा थप गर्ने प्रयास गरिने तथा बढी भएको कोटामा तय गरिएका विभिन्न मापदण्ड बमोजिम नगरको प्रतिनिधि,तालिम प्रदायक संस्था,साझेदार निकाय वा संस्था र विज्ञहरुको समूहको सहयोगमा सहभागि छनोट गरिने रोजगार संयोजक महराले बताएका छन् । सिप तथा रोजगार मेलाबाट सिप सिक्न इच्छुक युवाका लागि उप–महानगरले अनलाइन तथा नगरपालिका मार्फत माघ २ गतेदेखि २१ गतेसम्म फाराम भर्न पाउने व्यवस्था गरेकोे थियो ।
सिप तथा रोजगार मेला सञ्चालनपछि चैत्र १४ र १५ गते रोजगार मेला पनि सञ्चालन हुनेछ । रोजगार मेलाले रोजगार दाता र रोजगारीको खोजीमा रहेका व्यक्तिहरुबिच आपसी समन्वय गराई रोजगारीमा जोडिने अवसर समेत दिनेछ । सिप तथा रोजगार मेलाका लागि उप महानगरले १ करोड ५० लाख बराबरको बजेटको व्यवस्था गरेको छ भने तालिम प्रदायक संस्था तथा साझेदार निकायले सहयोग गरेका छन् । सिप तथा रोजगार मेला धनगढी उप–महानगरपालिका–१ खुला मञ्चमा लाग्ने छ ।