क्रिकेटको शहर धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा डडेल्धुराले लगातार दोस्रो जित हासिल गरेको छ । गो ड्रिर्मसको आयोजनामा भईरहेको प्रतियोगिताको तेस्रो दिनको पहिलो खेलमा बोष्टन क्रिकेट झापालाई ७७ रनको फराकिलो अन्तरले हराउँदै डडेल्धुराले सेमिफाईनलको सम्भावना बलियो बनाएको हो । डडेल्धुरालाई चार अंक सहित समुह ए को शिर्षस्थानमा पुराउनका लागि कप्तान सन्दिप जोरा र ओपनर आयुषमान बमले सानदार प्रदर्शन गरे ।
फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको डडेल्धुराले खराब मौसमका कारण छोट्टईएको १५ ओभरमा ३ विकेट क्षतिमा एक सय ४३ रन बनायो । ओपनिङ ब्याट्सम्यान आयुषमान बमले अविजित ५७ रनको पारी खेले । ३६ बलको सामना गरेका उनले एक छक्का र ७ चौका प्रहार गरे ।
कप्तान सन्दिप जोराले पनि ५१ रनको अर्धतशकीय पारी गरे । ३० बलको सामना गरेका उनले ४ छक्का र ४ चौका प्रहार गरे । कुशल भुर्तेल २ रन र विनोद भण्डारी ५ रनमा आउट भएपछि धर्मराएको फेण्ड्स क्लब डडेल्धुराको पारीलाई कप्तान सन्दिपले ओपनर आयुष्मान तेस्रो विकेटका लागि ८३ रनको साझेदारी गर्दै आफ्नो टीमलाई उच्च स्कोरतिर पुराए । डडेल्धुराका लागि किरण ठगुन्नाले १० बलमा २१ रन बनाए । बोष्टन क्रिकेट झापाका लागि अरुण ऐरीले २ विकेट लिए भने पवन कार्कीले एक विकेट आफ्नो नाममा लेखाए ।
एक सय ४४ रनको लक्ष्य लिएर मैदान उत्र्रिएको बोष्टन क्रिकेट झापाले १५ ओभरमा ९ विकेट क्षतिमा ६६ रन मात्रै बनाउन सक्यो । झापाका लागि ओपनरद्धय सनम बुढाथोकीले १७ रन र दिपु भुजेलले १५ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रन अंक छुन सकेनन् । २८ रनमा पहिलो विकेट गुमाएको झापाले त्यसपछि ३८ रन बनाउँदा ७ विकेट गुमाउन पुग्यो ।
झापाका चार खेलाडी रनको खाता नखोली पेलिभियन फर्किए । डडेल्धुरालाई जिताउनका लागि कुशल भुर्तेलले ४ विकेट लिए । अजय चौधरीले दुई विकेट लिए । रवि बिष्ट, आवाज गौतम र कप्तान सन्दिप जोराले एक एक विकेट लिए । खेलमा ५७ रनको अविजित पारी खेलेका फ्ण्ड्स क्लब डडेल्धुराका आयुषमान बम नवजीवन सहकारी संस्था प्लेयर अफ द म्याच भए । उनले नगद १० हजार सहित ट्रफी पाए ।
प्रतियोगिता अन्तर्गत भोली दुई वटा खेल हुनेछन् । पहिलो खेलमा न्यु होराईजन बुटबल र दशरथ चन्द एकेडेमी बैतडी प्रतिस्पर्धा गर्नेछन् । दोस्रो खेलमा डिसिए धनगढी र बोष्टन क्रिकेट झापा खेल्नेछन् । नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ ।
धनगढी र सुदुरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै आयोजना गरिएको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०÷५० हजार पाउनेछन । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ ।