कञ्चनपुरमा मृत फेला परेका कांग्रेस भीमदत्त नगर समिति सभापति अच्युत कलौनीको शव परीक्षण गरिएको छ ।
भेरी अस्पताल नेपालगञ्जबाट आएको फरेन्सिक विज्ञहरूको टोलीले महाकाली प्रादेशिक अस्पतालमा शवको पोस्टमार्टम गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले पोस्टमार्टम सकिएको बताउँदै भोलिसम्ममा रिपोर्ट आउने जानकारी दिए ।
शनिबार बिहान भीमदत्त नगरपालिका–१८ स्थित मामाभान्जा चोकनजिकै सडकपेटीमा कलौनी मृत फेला परेका थिए । उनको साथमा रहेको एउटा मोबाइल नभेटिएको र पर्स खल्तीबाट निकालेर अन्यत्र फालेको भेटिएपछि घटना शंकास्पद भएको आशंका गरिएको छ । मृतक कलौनीका बुवा जनकराजले अच्युतको हत्या गरेर फालिएको आशंका गर्दै निष्पक्ष छानबिनका लागि गृहमन्त्री रमेश लेखकलाई आग्रह गरे ।
नगर सभापति मृत भेटिएपछि शनिबार नै कञ्चनपुर पुगेका गृहमन्त्री लेखकले घटनाबारे प्रहरी, चिकित्सक र परिवारका सदस्यसँग जानकारी लिएका छन् । डीएसपी जोशीका अनुसार कलौनीले दुईवटा मोबाइल प्रयोग गर्दै आएका थिए । ‘एन्ड्रोइड मोबाइल मृतकको साथमा फेला परेको छ,’ उनले भने, ‘अर्को किप्याड मोबाइल भेटिएको छैन । हामीले खोजी गरिरहेका छौँ ।’ डीएसपी जोशीका अनुसार कलौनीको पर्स पनि शवभन्दा केही पर भेटिएको थियो । ‘पर्समा पैसा भने भेटिएको छैन,’ उनले भने । मृतक कलौनीको सडकपेटीमा घोप्टो परेको अवस्थामा मृत फेला परेका थिए । उनको शरीरमा कुनै चोटपटक थिएन ।
यस्तै, कांग्रेस कञ्चनपुरले कलौनीको शंकास्पद मृत्युबारे निष्पक्ष छानबिनको माग गरेको छ । जिल्ला सचिव भीमराज भट्टले विज्ञप्ति जारी गरी ‘पार्टीले एक होनहार र प्रतिभावान नेता गुमाएको’ बताएका छन् । कलौनीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आइतबार महेन्द्रनगरस्थित पार्टी कार्यालयमा राखिने पनि सचिव भट्टले जानकारी दिएका छन् ।
कलौनी नगर सभापतिसँगै महेन्द्रनगरको बैजनाथ माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष पनि थिए । उनी नेपाल विद्यार्थी संघका पूर्व सहमहामन्त्री पनि हुन् ।