कैलालीको धनगढीमा शनिबार सुरु भएको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा फ्रेन्डर्स क्लब डडेल्धुराले विजयी सुरुवात गरेको छ ।
उद्घाटन खेलमा डीसीए धनगढीलाई ८ विकेटले पराजित गर्दै डडेल्धुराले प्रतियोगितामा सुखद् सुरुवात गरेको हो ।
धनगढीस्थित फाप्ला मैदानमा १३३ रनको लक्ष्य पछ्याएको डडेल्धुराले १५.५ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।
डडेल्धुराका लागि कुशल भुर्तेलले ५१ बलमा ८७ रनको अविजित पारी खेले । यस्तै विनोद भण्डारीले ४२ रन बनाए । धनगढीका ललित राजवंशी र अमित श्रेष्ठले १/१ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको धनगढीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३२ रन बनाएको थियो ।
उसका लागि अमित श्रेष्ठले ३२, निरज ऐरले २७, कप्तान नारायण जोशीले १५ रन बनाए । डडेल्धुराका राहुल लुनियाले ३, कुशल भुर्तेल र रवि विष्टले २/२ तथा हेमन्त धामीले १ विकेट लिए । खेलका म्यान अफ द म्याच डडेल्धुराका भुर्तेल भए ।
यसअघि प्रतियोगिताको एक कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले उद्घाटन गरेका थिए ।
गो ड्रिमर्सको आयोजनामा सुरु भएको प्रतियोगिताका् विजेताले नगद १० लाख र उपविजेताले नगद पाँच लाखसहित ट्रफी पाउनेछन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उदीयमान खेलाडीले जनही ५०–५० हजार पाउनेछन् । प्रत्येक खेलका ‘म्यान अफ द म्याच’लाई नगद १० हजार रुपैयाँ प्रदान गरिनेछ ।