कैलालीको गोदावरी नगरपालिका - ८ स्याउलेमा जारी प्रदेश स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधि दुर्गालक्ष्मी नमुना माविले हात पारेको छ ।
सरस्वती मावि गेटालाई २—० ले पराजित गर्दै दुर्गालक्ष्मीले उपाधि हात पारेको हो । प्रतियोगिताको विजेता बने संगै दुर्गालक्ष्मीले नगद ५० हजारसहित ट्रफी,मेडल र प्रमाणपत्र पाएको छ ।
त्यस्तै उपविजेता बनेको सरस्वती माविले नगद २५ हजारसहित, ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । स्याउलेमा रहेको शारदा विद्या निकेतनले प्रदेश स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिताको आयोजना गरेको हो ।
स्याउलेको शिवशक्ति युवा क्लबको खेल मैदानमा जारी प्रतियोगिताको आज एक समारोहका बिच समापन गरिएको छ ।
समापन समारोहमा सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य धर्मराज पाठक प्रमुख अतिथि रहेका थिए । पाठकले प्रतियोगिताका विजेतालाई ट्रफि तथा पुरुस्कार हस्तान्तरण गरे ।
प्रतियोगितामा प्लेयर अफ द फाइनल तथा सर्वाधिक गोलकर्ता सुरेस साउँद बने भने वेस्ट गोल किपर सुदिप विक घोषित भए । उदयीमान खेलाडी सुमित चौधरी घोषित हुँदा सर्वोत्कृष्ट खेलाडी दिवस भट्ट घोषित भए ।
प्लेयर अफ द फाइनललाई नगद दुई हजार पुरुस्कार प्रदान गरिएको थियो भने सर्वाधिक गोलकर्ता, वेस्ट गोल किपर, उदयीमान खेलाडी र सर्वोत्कृष्ट खेलाडीलाई एकएक हजार नगद प्रदान गरिएको थियो ।
लिग चरणमा खेलाईएको प्रतियोगितामा ५ वटा टिमको सहभागिता रहेको थियो ।