डोटीमा पूर्व वडाध्यक्षसहित दर्जन बढी नेता कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संगठन विभागले शिखर नगरपालिकामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।
कार्यक्रममा शिखर नगरपालिका -७ का पूर्व वडाध्यक्ष नरबहादुर बलायर कांग्रेसमा प्रवेश गरेका हुन् । नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्यसमेत रहेका उनी २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । २०७९ को निर्वाचनमा पनि माओवादीबाट वडाध्यक्षका उमेदवार रहेका थिए ।
पूर्व वडाध्यक्ष बलायरसँगै नेकपा माओवादी केन्द्रका नगर कमिटी सदस्य दीर्घ बहादुर महर लगायत ईश्वर महरा, कमल सिंह रावत,पदम रावत , विमल रावत, गणेश महरा, पृथ्वी ऐर र कमल सिंह रावत पनि नेकपा माओवादी केन्द्र परित्याग गरी कांग्रेसमा प्रवेश गरेका थिए ।
त्यस्तै नेकपा एमालेबाट २०७४ मा शिखर नगरपालिका – ८ को वडाध्यक्षका उमेदवार रहेका देव बहादुर बलायर पनि कांग्रेस पार्टीमा प्रवेश गरेका छन् । २०५४ साल देखि एमालेको विभिन्न जिम्मेवारीमा रहेका उनी हाल किसान महासंघका जिल्ला कोषाध्यक्ष हुन् ।
उनीसहित वडा नम्बर ११ का टोल अध्यक्ष धनी दमाई, शिखर १ का वडा कमिटी सदस्य योगेन्द्र दडीमाना, शिखर नगरपालिका – ८ का गणेश कार्की, सोही ठाउँका भीम बहादुर बलायर र शिखर नगरपालिका – ९ का सिद्धराज फुलारा पनि पार्टी प्रवेश गरेको नेपाली कांग्रेस शिखर नगर कमिटीले जनाएको छ ।
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संगठन विभागका उप- प्रमुख एवं शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बहादुर बलायरको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा संगठन विभाग प्रमुख एवं प्रदेश सभा सदस्य पदम बहादुर शाही प्रमुख अतिथि रहनु भएको थियो ।