अछाममा दुई किशोरी मृत फेला परेको घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरीबाट पनि टोली परिचालन भएको छ ।
ढकारी गाउँपालिका–८, पल्साताकी १५ वर्षीया सरस्वती खड्का र उनकी १४ वर्षीया इशरा खड्का मृत भेटिएको घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले प्रहरी नायब निरीक्षकको नेतृत्वमा छुट्टै टोली खटाएको हो ।
प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी गणेश चन्दका अनुसार जिल्लाको अनुसन्धान टोलीलाई सघाउन प्रदेशबाट अर्को टोली पठाइएको हो । ‘जिल्लाले दुई जनालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ,’ उनले भने, ‘प्रदेशबाट गएको सईको टोलीले जिल्लाको टोलीलाई सघाउने छ ।’
यस्तै, प्रादेशिक अस्पताल भेरीमा दुवै किशोरीको शव परीक्षण गरिएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरीप्रसाद भण्डारीका अनुसार पोष्टमार्टम सकिएपछि दुवै किशोरीको शव अछाम ल्याउन लागिएको छ । ‘पोस्टमार्टम रिपोर्ट भने हामीले पाइसकेका छैनौँ,’ उनले भने, ‘घटनामा विस्तृत अनुसन्धान गर्नुपर्ने देखिएकै कारण दुई जना शंकास्पदलाई नियन्त्रणमा लिएका छौँ ।’
जिल्ला प्रहरी स्रोतका अनुसार प्रहरी हिरासतमा रहेका दुई जनाले सोधपुछका क्रममा दुई किशोरीको हत्या भएको संकेत गरेका छन् । सोही संकेतपछि थप चार जनालाई केही समय नियन्त्रणमा राखेर प्रहरीले सोधपुछ गरेको थियो ।
बाख्रा चलाउन गएका दुवै किशोरी ढकारी गाउँपालिका–१ स्थित छिन्ने ओढारको जङ्गलमा शनिबार साँझ मृत फेला परेका थिए ।
कर्णाली प्रदेश प्रहरी कार्यालय कोहलपुरको केनाइन शाखाबाट ल्याइएको तालिमप्राप्त कुकुरसमेत घटनास्थलमा परिचालन गरिएको छ ।