नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता डडेल्धुराबाट खेल्ने भएका छन् ।
क्रिकेटको शहर धनगढीमा यही माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागीता जनाएको डडेल्धुराको फेन्ड्स क्लबबाट नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य भुर्तेलले खेल्ने भएका हुन् ।
फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा माघ १९ गते हुने उद्घाटन खेलमा डडेल्धुराको फेन्ड्स क्लबले आफ्ना प्रमुख खेलाडीको रुपमा कुशललाई मैदान उतार्दै डिसिए धनगढी विरुद्ध खेलेर प्रतियोगिताको सुरुवात गर्नेछ ।
प्रतियोगिताको खेललाई प्रत्यक्ष रुपमा मैदानमा गएर हेर्नका लागि खल्ती एपबाट टिकट काट्न सकिने सुविधा दिईएको आयोजकले जनाएको छ ।
प्रतियोगिताका खेलहरु हेर्नका लागि खल्ती एपमा अर्जुन ट्रफीको टिकट काट्ने सुविधा सुरु भईसकेको छ । डिजिटल वालेट खल्तीबाट टिकट काटेर खेल हेर्ने दर्शकहरुलाई टिकट बराबरको आकर्षक उपहार पनि दिईने भएको छ । यस्तै कुशल समावेश रहेको फेन्ड्स क्लब डडेल्धुराले माघ २१ ग्ते वोष्टन क्रिकेट झापासँग खेल्नेछ भने माघ २४ गते घोडाघोडी–११ सुख्खडसँग खेल्नेछ ।
लिग चरणका सबै खेलहरुका प्रमुख तथा गेम चेञ्जर खेलाडीहरुको रुपमा कुशल भुर्तेल रहनेछन् । हालै सम्पन्न जय ट्रफीको च्याम्पीयन नेपाल पुलिस क्लबलाई बनाउन कुशलले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
जसमा उनको एक अर्धशतक पनि सामेल थियो । अन्तराष्ट्रिय टी २० क्रिकेटमा उनले ५ वटा अर्धशतक सहित ५ सय रन पुरा गरेका छन् भने एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा पनि एक हजार रन पुरा गरेका छन् ।
हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएलमा) उनले पोखरा एभेञ्जरबाट मार्की खेलाडी हुँदै कप्तानको भुमिका निर्वाह गरेका थिए ।
गो ड्रिमर्सको आयोजनामा यस बर्षदेखि नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिताका सबै खेलका टिकटहरु खल्ती एपबाट काट्न सकिन्छ ।
फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा दर्शकहरुलाई मैदानमा गएर खेल हेर्नका लागि भिआईपी तर्फ दुई सय र साधारण तर्फ एक सय रुपैया टिकट दर तोकिएको छ ।
धनगढी र सुदुरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्काको स्मृतिमा आयोजना गर्न लागेको अर्जुन ट्रफीमा झण्डै २० लाख नगद पुरस्कार प्रदान गरिनेछ । रनिङ ट्रफीको रुपमा टी–२० फमर््याटको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ ।
उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०÷५० हजार पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ ।
प्रतियोगितामा देशभरका ८ वटा क्लबका टीमहरुको सहभागीता रहेको छ । सबै टोलीहरुले ए क्याटोगोरीका चार जना, बी क्याटोगोरीका पाँच जना र बाँकी सी क्याटोगोरीका गरी १४ खेलाडी समावेश गर्न पाउनेछन् ।
ए क्याटोगोरीमा नेपाली राष्ट्रिय टीमका खेलाडी रहेका छन् भने बी क्याटोगोरीमा नेपाली राष्ट्रिय टीम ए, यु– १९ नेपाली राष्ट्रिय टोली र प्रदेश स्तरीय सिनियर खेलाडी रहेका छन् । सी क्याटोगोरीमा यु– १६ नेपाली राष्ट्रिय टोली, प्रदेशका यु–१९ र यु–१६ का खेलाडी र अन्य खेलाडीहरु रहेका छन् ।