डा. भीम रावलले शुरु गरेको मातृभूमि जागरण अभियानमा अछामका एक हजार ८६ जना समाहित भएको घोषणा गरिएको छ ।
अछाम रावलको गृहजिल्ला हो । मंगलबार अभियानका पक्षधरहरुले अछाममै पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको जानकारी दिएका हुन् ।
अछामबाट प्रतिनिधित्व गर्ने एमाले प्रदेश कमिटी तथा विभागीय सदस्य रहेका सात जना, केन्द्रीय विभागका दुई जना, जिल्ला कमिटी सचिालय सदस्य पाँच जना, प्रवास केन्द्रीय प्रतिनिधि परिषद् एक जना, जिल्ला कमिटी सदस्य १७ जना, पूर्वजिल्ला कमिटी सदस्य तीन जना, जिल्ला सल्लाहकार सदस्य १३ जना, नगर कमिटी पदाधिकारी तथा सचिवालय सदस्य १२ जना, अनेम संघ कार्यवाहक अध्यक्ष, जनवर्गीय संगठनका प्रमुख तथा पदाधिकारी आठ जना, वडा कमिटी अध्यक्ष तथा पदाधिकारी २२ जना, संगठित सदस्यहरु छ सय ३७ जना र अन्य एमाले कार्यकर्तासहित एक हजार ८६ जना रहेका रावल पक्षीय एमाले नेता प्रकाश शाहले बताए ।
उनले एमाले पार्टी मै रहेर अभियानलाई समर्थन गरेको जिकिर गरे । उनले भने ,"अहिले हामी एमाले मै छौँ , एमाले मै रहेर अभियानलाई समर्थन गरेका छौँ । एमाले पार्टी कसैको ब्यक्तिगत प्राइभेट लिमिटेड त होइन होला । देशमा भोलि बैकल्पिक शक्तिको आबश्यकता पर्न सक्छ भनेर यो अभियानलाई समर्थन गरेका हौं । "
एमालेले पुर्ब उपाध्यक्ष रावललाई कार्बाही गरेपछि उनले अभियान शुरु गरेका छन् । अहिले मातृभूमि जागरण अभियान भनेर प्रचार गरिएको भएपनि त्यसैले पार्टीमा रुपान्तरण गर्ने उनको योजना रहेको बुझिएको छ ।