सुदूरपश्चिम प्रदेशसभा स्थापना भएको सोमबार सात वर्ष पूरा भएको छ । प्रदेशसभाको पाँच वर्षे पहिलो कार्यकाल सकिएर दोस्रो कार्यकालको दुई वर्ष पूरा भइसकेको छ ।
सोमबार प्रदेशसभा स्थापना दिवस मनाइएको छ । प्रदेशसभा सचिवालयको आयोजनामा दिवस मनाइएको छ । कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले स्थायी राजधानी बनाउनेतर्फ लाग्न प्रदेश सरकारलाई आग्रह गरे । अन्य प्रदेशमा स्थायी राजधानी बनिसक्दासमेत सुदूरपश्चिममा कुरासमेत नउठ्नु विडम्बना भएको उनले बताए । प्रदेशलाई अधिकार सम्पन्न बनाउनका लागि एकल र साझा अधिकार रहेको बताउँदै उनले साझा अधिकारको प्राप्तिका लागि प्रधानमन्त्रीसहितको बैठकमा पटकपटक आवाज उठाएको उनले बताए ।
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले संघीय सरकारका कारण समस्या आएको बताए । ‘संघीयताका कार्यान्वयनसँग जोडिएका केही समस्याले प्रदेश सरकारको गतिविधिलाई समस्या पारेको छ,’ उनले भने, ‘संघीय सरकारले निर्माण गर्नुपर्ने ऐन, नियम र कानुन समयमै तर्जुमा नहुँदा प्रदेशस्तरमा निती तथा कानुन निर्माणमा कठिनाइ भाग्नुपरेको छ ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारी पनि प्रदेश सरकारप्रति असन्तुष्ट देखिए । ‘हामीभन्दा पछाडि परेका प्रदेशहरू द्रुत गतिमा विकास गर्दै छन्,’ उनले भने, ‘हामी घोषणा गर्ने अनि कुनै पनि काम नगर्ने ठाउँमा पुगेका छौँ ।’
सभामुख भण्डारीले सरकारले प्रदेशसभालाई महत्व नदिएको भन्दै असन्तुष्टि जनाए । उनले पहिलो कार्यकालको जसरी प्रदेशसभा सञ्चालन हुन नसकेको बताए । ‘हिजोको दिनमा जसरी प्रदेशसभा चलेको थियो, त्यसरी आज चलेको छैन,’ उनले भने, ‘यो कुरा क्लियर हो ।’
कार्यक्रममा पूर्व मुख्यमन्त्रीहरू दीर्घ सोडारी, राजेन्द्रसिंह रावल र त्रिलोचन भट्टले पनि प्रदेश सभाले गति नपाइरहेको बताएका थिए ।