क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा आगामी माघ १९ गतेदेखि २८ गतेसम्म अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको हो ।
धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको आज नै ट्रफी अनावरण गरिएको छ ।
सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलवहादुर शाहले ट्रफी अनावरण गरे । धनगढी स्थित फाप्ला मैदानमा आयोजना हुने प्रतियोगिताका लागि चार वटा पिच निर्माण गरिएको छ भने कृतिम प्याराफिट पनि निर्माण गरिएको छ ।
अहिलेसम्म तयारी ९० प्रतिशत सकिएको र सामान्य तयारीहरु अबको केही दिनमा सम्पन्न हुने आयोजक गो ड्रिमर्सका अध्यक्ष सुवाश शाहीले जानकारी दिए ।
सुदुरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका भएका स्वर्गीय अर्जुन खड्काको स्मृतिमा आयोजना हुन लागेको अर्जुन ट्रफीमा झण्डै २० लाख नगद पुरस्कार प्रदान गरिन छ ।
रनिङ ट्रफीको रुपमा टी–२० फर्म्याटको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ ।
उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०÷५० हजार पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ ।
लिगकम नकआउटका आधारमा आयोजना हुने प्रतियोगिताका सम्पुर्ण खेलहरु धनगढी स्थित फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा आयोजना गरिनेछन ।
प्रतियोगितामा देशभरका ८ वटा क्लबका टीमहरुको सहभागीता रहनेछ ।