कैलालीको गोदावरी धाममा बाह्रराशि दर्शन मकर मेला शुरु भएको छ । मेलाको सोमबार एक कार्यक्रमका बिच शुभारम्भ गरिएको छ ।
प्रदेश सांसद खिमा बिष्ट , कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमाल , गोदावरी नगरपालिकाका प्रमुख बिरेन्द्र भट्ट लगाएतको आतिथ्यमा मेलाको शुभारम्भ गरिएको हो ।
गोदावरी धाम विकास समितिका अध्यक्ष पदमराज जोशीले मेलामा बाह्र राशि नवग्रह, सत्ताइस नक्षत्रको स्थापना, लक्ष्य हवन, पुराण पाठ, ग्रह पूजा, भजनकिर्तन, र प्रवचन जस्ता धार्मिक क्रियाकलाप हुनेछन्।
जोशीका अनुसार २०७२ सालको महाकुम्भ मेलापछि प्रत्येक वर्ष १२ दिवसीय बाह्र राशि दर्शन मकर मेला आयोजना हुँदै आएको छ । यसै बिच गोदावरीमा स्नान गर्नको लागी स्थानियहरु गोदावरी पुग्ने क्रम शुरु भएको छ ।
रातभर जाग्रम बसेर बिहान स्नान गर्ने प्रचलन रहेको छ । सुदुरपश्चिम सहित देशका अन्य ठाउँ र भारतबाट समेत भक्तजनहरु यँहा आउने गरेका छन ।
मकर मेलाको लागी गोदावरी कुम्भ बाटिकालाई सजाइएको छ । यस्तै मेलाको लागी पुरानो शिव मन्दिर, हनुमान मन्दिर लगाएतका ठाउँहरुमा तयारी गरिएको छ । शिव मन्दिरमा रातभर भजन आरती लगाएतका कार्यक्रम गर्ने आयोजकले जनाएको छ ।
भक्तजनहरुलाई स्नान गर्न सहज होस भनेर पानीलाई केही दिन यता थुनेर स्नान कुण्ड समेत निर्माण गरिएको छ ।