नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले एमाले परित्याग गरेको अफवाह फैलाइएको भन्दै त्यसको खण्डन गरेका छन् ।
पूर्वसचिव भीम उपाध्यायले सामाजिक संजालमा भट्टले एमाले छोडेको भन्दै पोष्ट गरेपछि उनको सचिबालयले खण्डन गरेको छ ।
‘जता पद पाइन्छ त्यता कुद्ने माओवादी नेताहरू’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एमाले पार्टीका केन्द्रीय कमिटी सचिव एवम् सुदूर पश्चिम प्रदेश कमिटी इन्चार्ज लेखराज भट्ट लगायत ४६ जनाले एमाले पार्टी परित्याग गरे ।’
एमाले सचिव तथा इन्चार्जले एमाले छोडेको भन्दै सामाजिक सञ्जालमा लेखेपछि अहिले भट्टको सचिवालयले उक्त विषय गलत रहेको भन्दै प्रस्टीकरण दिएको छ । ‘उहाँ (लेखराज भट्ट)ले एमाले छोड्ने कुरा सोच्नसम्म पनि सक्नु हुन्न । पार्टीको त्यस्तो जिम्मेवार पदमा रहनु भएका नेतालाई पार्टी परित्याग गरेको भन्दै लेखिएको स्ट्याटसबारे हामी गम्भीर भएका छौँ’ ,' भट्ट का स्वकीय सचिब ओझाले भने ‘त्यसविरुद्ध हामी कानुनी लडाइमा जान्छौँ ।’
पूर्व सचिव उपाध्यायले भट्टको तस्बिर सहित राखेर सामाजिक सञ्जालमा एमाले परित्याग गरेको लेखेपछि अन्य केहीले पनि त्यही अनुसारको टिप्पणी गरेका छन् । यता भट्टको सचिवालयले भने पार्टी कमजोर बनाउन अफवाह फैलाएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
‘केही दिनयता सामाजिक सजांल र केही अनलाइनहरूमा हाम्रो गौरवशाली पार्टी नेकपा(एमाले)का केन्द्रीय कमिटी सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज क. लेखराज भट्टसहित धेरैले पार्टी परित्याग गरेको समाचारमा गभीर ध्यानाकर्षण भएको छ । सम्पूर्ण शुभचिन्तक तथा नेकपा (एमाले)का नेता-कार्यकर्ताहरूमा यस्ता गलत, भ्रामक र तथ्यहीन हल्लाका पछाडि नलागी नेकपा(एमाले)लाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न अनुरोध छ । साथै विचार, सिद्धान्त र कर्मले लड्न नसक्ने असामाजिक तत्त्वहरूले नेकपा(एमाले)को राष्ट्रियता र समृद्धिको यात्रालाई कमजोर पार्ने बदनियतले यस्ता तथ्यहीन कुप्रचार गर्ने कार्य जारी राखेमा कानूनी कारबाहीको प्रक्रियामा जाने कुरा अवगत गराउन चाहन्छु’ भट्टको सचिवालयले जनाएको छ ।
पार्टीमा असन्तुष्टि राख्ने २ जनाले थप ४४ जनाको हस्ताक्षर नै किर्ते गरेको एमाले कैलालीले जनाएको छ ।
पार्टी परित्याग गरेको भन्दै हस्ताक्षरमा नाम रहेकाहरूले आज आफूलाई एस विषयमा कुनै जानकारी नरहेको बताएका छन् । उनीहरुले मगंलबार एक विज्ञप्ति जारी गर्दै आफूहरू एमालेमै रहेको बताएका हुन् । यसरी हस्ताक्षर गर्ने २८ जना रहेका छन् ।