सांसदहरूले वन मन्त्रालयका कर्मचारीहरूले आफूहरूलाई केही नजान्ने र ज्ञान नभएको (गोज्याङ्ग्रो) जस्तो ठान्ने गरेको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले कोप २९ को समीक्षा गर्न आयोजना गरेको छलफलमा सांसदहरूले वन मन्त्रालयका कर्मचारीमाथि रोष प्रकट गर्दै यस्तो आरोप लगाएका हुन्।
उनीहरूले वन मन्त्रालयका कर्मचारीहरूकै कारणले कोप २९ भद्रगोल भएको टिप्पणी गरेका छन्। त्यसै कारण विश्व जलवायु सम्मेलन (कोप २९) उपलब्धिमूलक हुन नसकेको भन्दै प्रतिनिधिसभाका सांसदहरूले रोष व्यक्त गरेका छन्।
सार्वभौम संसद्का सदस्यको भूमिकालाई नजरअन्दाज गरेको आरोप उनीहरूको छ। समितिको बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद वीरबहादुर बलायरले कोप २९ जस्तो बिजोगको सहभागिता यसअघि कहिल्यै नभएको टिप्पणी गरे। राष्ट्रलाई विश्वसामु प्रतिनिधित्व गर्न राजनीतिक नेतृत्व नै आवश्यक रहेको बताए।
कोप २९ मा संसदीय समितिको प्रतिनिधित्व नगर्दा अपेक्षाकृत प्रतिफल हासिल हुन नसकेको तर्क गरे। उनले वन मन्त्रालयका कर्मचारीहरूले सांसदहरूलाई केही नजान्ने, ज्ञान नभएको (गोज्याङ्ग्रो) जस्तो ठान्ने गरेको आरोप लगाए।
कोप सम्मेलनमा राजनीतिक नेतृत्वले खेल्नसक्ने भूमिकालाई समेत वन मन्त्रालयले ओझेलमा पारेको बताए। जलवायु सम्मेलन जस्ता सम्मेलन निजी मामिला जस्तो व्यवहार हुन थालेको भन्दै आक्रोश व्यक्त गरे।
जलवायु परिवर्तनका असरविरुद्ध देश आफैँले धेरै गर्नसक्ने अवस्था भए पनि मन्त्रालयले चासो नदिएको आरोप सांसद बलायरको छ।
ठूलाठूला भौतिक संरचना बनउनुअघि गरिने वातावरणीय प्रभाव मूल्यांकनको रिपोर्टलाई वन मन्त्रालयले अनुगमन गर्न नसकेको बताए। रिपोर्ट स्वीकृत गर्ने तर अनुगमन गर्न नजाने गरेको आरोप सांसद बलायरको छ।
वन मन्त्रालयले समितिसँगको सहकार्यबिना काम गर्न नसक्ने भन्दै एक्लै हिँड्ने कोसिस नगर्न चेतावनी दिए।