एमालेबाट निष्कासित नेता भीम रावलसँग नेपाली कांग्रेस बीपीका उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेशसभा सदस्य तारा जोशीले भेटघाट गरेका छन् ।
मल्ल नेपाली कांग्रेस डडेल्धुराका पूर्वजिल्ला सभापति हुन् भने जोशी नेकपा एमाले डडेल्धुराका पूर्वअध्यक्ष तथा नेकपा एकीकृत समाजवादीका पूर्वकेन्द्रीय सदस्य हुन् ।
जोशी २०७९ सालको प्रदेशसभा सदस्य निर्वाचनमा डडेल्धुराबाटै स्वतन्त्र चुनाव लडेर विजयी भएका थिए । मल्ल २०७४ सालको प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसबाट डडेल्धुराबाट विजयी भएका थिए ।
आज काठमाडाैंको टोखास्थित रावल निवासमै तीन जनाको भेटघाट भएको मल्लले जानकारी दिए । ‘अहिले भीम रावल राजनीतिक अन्यायमा पर्नुभएको छ,’ उनले भने, ‘सोही कारण पनि भेटघाटका लागि पुगेका थियौँ । भेटघाटका क्रममा राजनीतिक छलफल पनि भएको छ ।’
मल्लका अनुसार नयाँ यात्राका लागि विभिन्न विकल्प र त्यसमा तीन जनाको सहकार्यका विषयमा पनि छलफल भएको छ । उनले नेपाल र नेपालीको स्वाभीमानका लागि नयाँ ढंगले अभियान सुरु गर्ने संकेत गरे ।
आगामी पुस १७ गते कार्की पार्टी बैंक्वेटमा पत्रकार सम्मेलन गरेर रावलले पछिल्लो राजनीतिक अवस्थाबारे आफ्ना नीति, विचार र दृष्टिकोण सार्वजनिक गर्दैछन्।
त्यसलगत्तै देश दौडाहामा निस्कने तयारी गरेका रावलले आफ्ना विचारसँग सहमत राख्ने देभभरिका नेता–कार्यकर्तासँग अन्तरक्रिया पनि गर्ने तयारी गरेका छन्। रावल निकटका अनुसार उनले वाम, प्रजातान्त्रिक समेटेर गैरकम्युनिस्ट पार्टी बनाउने भएका छन्।