नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीमा ३२ वर्ष उमेरहद लागू हुने भएपछि नयाँ अनुहार नेतृत्वमा आउने भएका छन् । लामो समयदेखि नेतृत्वमा रहेर अध्यक्षको दावीका लागि पद बढुवा र घटुवामा बस्दै आएका नेताहरू बिदा हुने भएका छन् ।
उमेरहद लागू हुने भएपछि अध्यक्षको दावी गर्दै आएका दीपेश पुन, मदन भुल, इन्द्र भुसाल, पवन कार्की, केशव रावल, नरेश रेग्मी, क्षितिज सापकोटा, जीपी मैनालीलगायतको ठूलो पङ्क्ति माओवादीको विद्यार्थी राजनीतिबाट एकसाथ बाहिरिने भएको छ ।
दिपेश पुन अध्यक्ष हुनकै लागि उपाध्यक्षबाट महासचिवमा झरेका थिए । संगठनबाट बिदा हुँदा अध्यक्ष हुन नपाइने डरले उनी महासचिवमा घटुवा भएर बसेका थिए । हुन त, महासचिव भएकै बेलामा उनी सहकारी मुद्दामा परेका छन् ।
अर्का दावेदार पवन कार्कीले पनि अध्यक्ष हुन नपाएको झोँकमा समानान्तर कमिटी नै चलाएका थिए । संगठनलाई समानान्तर चलाएर कार्कीले देशव्यापि अभियान चलाएका थिए । रेग्मी, सापकोटा र मैनालीहरूले भने विद्यार्थी जीवनभन्दा पनि व्यवसायिक जीवन सुरु गरिसकेका थिए ।
निर्वाचन अधिकृतको कार्यालयले विद्यार्थीमा ३२ वर्षे उमेरहद लागू गर्ने मतपरिणाम आएको सार्वजनिक गरेसँगै अखिल क्रान्तिकारीको नेतृत्व दोस्रो पुस्ताका विद्यार्थी नेताहरूमा झर्नेछ । त्यसो हुँदा, अहिलेका १ सय ९३ जना विद्यार्थी नेताहरू बिदा हुने बताइएको छ ।
अब विद्यार्थीको अध्यक्षका लागि विराज थापा, रोशन थापा मगर, प्रतीक कार्की, उपदेश यादव, विष्णु ढुङ्गेल, हेमन्त राई, प्रविना अधिकारी, तिर्सना हमाल अध्यक्षका दाबेदार छन् । ३२ वर्षे उमेरहद लाग्दा देवकी कार्की, दीपा जैसीलगायत उपाध्यक्षका दाबेदार रहेका छन् ।