परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले भारततर्फबाट अतिरिक्त हवाई रुट चाहेको बताएकी छन्। भारतको नयाँ दिल्लीमा शुक्रबार आयोजित भारत नेपाल आर्थिक सम्मेलन (इन्डो नेपाल इकोनोमिक कन्फ्रेन्स) लाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै मन्त्री डा .राणाले नेपालले भारतबाट थप हवाई रुटको अपेक्षा गरिरहेको जानकारी गराएकी हुन्।
'हामीले नेपालका पोखरा र लुम्बिनीमा दुई अन्तर्राष्ट्रिय विमानस्थल बनाएका छौँ । ती दुवै संसारकै लोकप्रिय सहर हुन् । पोखरा पर्यटन नगरी हो भने लुम्बिनी भगवान गौतम बुद्धको जन्मस्थल हो । ती विमानस्थलबाट हामीले पर्यटन मात्र नभएर समग्र सम्पर्क विस्तार पनि गर्न चाहन्छौँ ,'उनले भनिन्,'त्यसैले नेपाल यी दुई विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि पनि थप हवाई रुट चाहेको छ ।'
नेपालले ती विमानस्थल महङ्गो खर्चमा निर्माण गरेकाले तिनलाई पूर्णरुपमा सञ्चालनमा ल्याउनका लागि पनि आफ्ना छिमेकीसँग सहयोगको याचना गरिरहेको बताउँदै उनले भारतीय एयरलाइन्सहरूलाई नेपालमा थप उडानका लागि आग्रह गरेकी हुन्।
उनले नेपाल सरकारले भारतका निजी एयरलाइन्सहरूलाई नेपालमा उडानका लागि आग्रह गर्दै नेपाल सरकारले यसका लागि धेरैभन्दा धेरै सहुलियत प्रदान गर्ने जानकारी पनि गराएकी थिइन्। यी विमानस्थलहरूको सञ्चालनमार्फत् दुई देशबीचको पर्यटन प्रवर्द्धन हुने त छँदैछ,अझ त्यो भन्दा पनि ठूलो कुरा त दुई देशका जनता जनताबीचको सम्पर्क र सम्बन्धलाई थप विस्तारित गर्ने मन्त्री डा. राणाको भनाइ थियो।
नेपालले अतिरिक्त हवाई रुट प्राप्त गर्ने र यी दुवै विमानस्थल पूर्ण क्षमताका साथ सञ्चालनमा आउन सक्ने हो भने नेपाल र भारतका पर्यटकीय सम्भावनाहरू थप उजागर हुनुका साथै दक्षिण एसियाकै कनेक्टिभिटीमा पनि थप सहयोग पुग्ने उनको धारणा थियो।
नेपाल र भारतका धार्मिक र सांस्कृतिक पर्यटनको अधिक सम्भावनाहरूको चर्चा गर्दै उनले रामायण सर्किट र बुद्ध सर्किट जस्ता संयुक्त पहललाई प्रभावकारी रूपमा प्रवर्द्धन गरेर दुवै देशले पर्यटनबाट पारस्परिक लाभ लिनसक्ने र यसका लागि संयक्त सहकार्य आवश्यक पर्ने बताइन्।
सम्मेलनमा मन्त्री डा. राणाले नेपालमा लगानीका लागि भारतीय लगानीकर्ताहरूलाई आग्रह पनि गरिन् ।
उनले नेपाल भारत सम्बन्ध साझा सामाजिक–संस्कृतिक मूल्य र धरोहरमा आधारित रहेको चर्चा गरिन् । नेपाल र भारत सबैभन्दा नजिकका मित्र राष्ट्र रहेका र सांस्कृतिक एकता र आर्थिक सम्बन्धले यी दुई देशको आपसी सम्बधलाई थप बलियो बनाएको उनको भनाइ थियो ।
भारतले नेपालको शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, संस्थागत निर्माण र नेपालको औद्योगिकीकरणमा पुर्याउँदै आएको सहयोगले यी दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाएको पनि उनले बताइन्। नेपालले सन् २०२६ मा अल्पविकसितबाट विकासोन्मुख राष्ट्रका रुपमा स्तरोन्नती हुन लागेकाले आफ्ना सबैभन्दा नजिकका छिमेकीहरूबाट पनि निरन्तर सहयोग, समर्थन र सद्भाव चाहेको उनले बताइन्।