गृहमन्त्री रमेश लेखकले सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका रवि लामिछानेमाथिको अनुसन्धान प्राभावित हुने गरी जथाभावी नबोल्न जिम्मेवार दलका नेतालाई आग्रह गरेका छन् ।
केही दिन अगाडि चितवनमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले लामिछानेमाथि प्रतिशोध राखेको भनी गरेको टिप्पणी गलत भएको भन्दै मन्त्री लेखकले उनीमाथि कानुनी हिसाबले अनुसन्धान भइरहेको बताए।
कांग्रेसका नेता डा.शेखर कोइरालाले पनि भरतपुरमा पत्रकार सम्मेलनमा बोल्दै लामिछानेलाई रातरात चितवनबाट पोखरा लगिएकोमा आपत्ति जनाउँदै अमानवीय व्यवहार भएको बताएका थिए । यस्ता अभिव्यक्तिले अनुसन्धानलाई प्रभावित बनाउन खोजिएको उनको भनाइ छ।
नेपाल प्रेस युनियन चितवनले आइतबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकलले जथाभावी नबोल्न आग्रह गरेका हुन् ।
लामिछानेमाथि कुनै अमानवीय व्यवहार नभएको स्पष्ट पार्दै अदालतलाई प्रभावित बनाउन गलत हल्ला फिजाएको भन्दै न्यायिक प्रक्रिया प्रभावित हुनेगरी नबोल्न सुझाव दिए।
प्रतिशोध नभई निष्पक्ष अनुसन्धान भइरहेको उनको भनाइ छ। ‘न्यायीक प्रक्रियालाई प्रभावित हुने गरेर नबोलौं । चाहे सरकारमा रहेका नेताबाट होस् चाहे प्रतिपक्षी दलका नेताबाट होस् । कसैबाट पनि अदालतको न्यायीक प्रक्रिया प्रभावित हुनेगरी बोल्नुहुन्न ,’उनले भने ,‘प्रचण्डजीले जुन टिप्पणी गनुभयो त्यो दुर्भाग्यपूर्ण हो । त्यसरी टिप्पणी गर्नुहुन्न । कहाँनि प्रतिशोध भएको छ त्यो देखाउनु पर्यो नि । कानुन पनि मान्दिन अदालत पनि मान्दिन मैले भनेको हुनपर्छ भन्ने हो भने यो संविधान कहाँ कानुनले भनेको भन्दा बढी अवधि थुनामा राखेको छ ? ’
अनुसन्धानसँग जोडिएका निकाय घेराउ गर्न खोजिएको बताउँदै सडकबाट न्याय निरुपरण नहुने बताए ।
मन्त्री लेखकले अनुसन्धानसँग जोडिएका निकाय र अदालतमा दबाब दिन सडकमा भिड जम्मा गरेर प्रभावित बनाउन खोजिएको आरोप लगाएका छन् ।
‘प्रारम्भिक प्रमाणको आधारमा अनुसन्धान गर्ने हो । त्यही अनुसार अनुसन्धान अगाडि बढेको छ 'लेखकले भने,‘अमानवीय व्यवहार भयो भनेर अनुसन्धान ,अदालति प्रक्रियालाई अर्कैतर्फ लैजाने प्रयत्न भइरहेको छ । भइरहेको सडकबाट न्याय दिने प्रयास नगरौं । '
मन्त्री लेखकले सहकारी ठगीको आरोप लागेका जिवी राईलाई पक्राउ गर्ने काम अघि बढिरहेको बताए । सहकारीका बचतकर्ताको रकम फिर्ता गराउन सरकार लागिपरेको उनको भनाइ छ।