टिकापुर – एक बर्ष देखि टीकापुर अस्पताल नेतृत्व विहीन रहेको छ । नेतृत्व दिने अस्पताल विकास समितिको अध्यक्ष र मेडिकल सुपरिटेन्डेन्ट नियुक्त भएका छैनन । प्रदेश सरकार मातहत रहेको यो अस्पताल अस्तव्यस्त हुने थाले पछि नेकपाको टीकापुर नगर कमिटीको पहिलो बैठकले विकास समितिको अध्यक्ष तत्काल नियूक्त गर्न प्रदेश सरकार समक्ष माग गरेको थियो । सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले निर्णय लिन नसक्दा र सबैतिरको खिचातानीले अस्पतालले नेतृत्व पाउन नसकेको हो ।
केही दिन अघि उपभोक्ता हकहित संरक्षण मञ्च टीकापुरले समेत अस्पतालको नेतृत्व नहुँदा सेवा प्रभावित हुन थालेको औंल्याएको थियो । मञ्चले तत्काल नेतृत्व पठाउन नगर प्रमुख मार्फत माग गरेका थियो । नेतृत्व नहुँदा टीकापुर अस्पतालको सेवा प्रवाह प्रभावित भएको सेवाग्राही बताउँछन । वर्ष दिन अघिसम्म यहाँका सर्वसाधारण उपचारका लागि टीकापुर अस्पताल जान्थे । अहिले त्यो अवस्था छैन । उनीहरू निजी क्लिनिक र अस्पताल जानु परेको बताउँछन ।
अस्पतालमा अध्यक्ष पनि नियुक्त नभएका र मेडिकल सुपरिटेन्डेन्ट पनि नहुँदा कार्यरत कर्मचारी अभिभावक विहीन जस्तो अवस्थामा रहेको कार्यरत कर्मचारीहरू बताउछन । ११ डाक्टरको दरवन्दी भए पनि ४ जना मात्र कार्यरत छन । अस्पतालमा विरामीको चाप अनुसार डाक्टर नहुँदा विरामीले सेवा पाउन सकेका छैनन । दन्तरोग, फिजिसियन र नगरपालिका बाट नियुक्त स्त्रीरोग, र बालरोग विशेषज्ञ डाक्टर भए पनि विरामीको चाप धेरै हुँदा उपचार नगरी फर्कनुपर्ने अवस्था छ ।
यसअघि मेडिकल सुपरिटेन्डेन्ट डा नरेन्द्र खनाल हुँदा हाइड्रोसिल, हर्निया, एपेन्डिक्स लगायतको शल्यक्रिया अस्पतालमै हुन्थ्यो । अहिले यो सेवा ठप्प छ । भिडियो एक्सरे सेवा पनि सेवाग्राहीले पाउन सकेका छैनन । उपचार नपाएर यहाँका विरामी नेपालगन्ज जानुपर्ने बाध्यता छ । अहिले टीकापुरमा रहेका ५ एम्बुलेन्स बिरामी बोकेर लगातार नेपालगन्ज कुदिरहेका अस्पतालका कर्मचारीहरू बताउँछन । यो अस्पताल ५१ शय्याको हो । डाक्टर र नर्सिङ स्टाफ नहुँदा प्राथमिक स्वास्थ्य केन्द्र जस्तै बनेको कर्मचारी पुष्प धमला बताउँछन ।
हाल टीकापुर अस्पतालमा बालरोग, स्त्रीरोग र फिजिसियन रहे पनि उनीहरूले पोस्टमार्टम गर्न मान्दैनन । उनीहरूले पोस्टमार्टम गर्ने सम्बन्धी तालिम नलिएको भन्दै नगरेको टीकापुर नगरपालिका स्वास्थ्य शाखाका प्रमुख बल बहादुर रावल बताउछन । कोरियन सहयोग नियोगको सहयोगमा स्रोत साधन सम्पन्न अस्पताल भवन निर्माण भएपनि जनशक्ति अभावमा भवन र कतिपय सरसामानको उपयोग हुन सकेको छैन । भवनमा ताला लगाइएको छ । टीकापुर अस्पतालमा डाक्टर निवास सहित १२ भवन छन । गत बर्ष यहाँ करिब ७० हजार बिरामीले सेवा लिएको अस्पतालले जनाएको छ । कान्तिपुरबाट