नेपाल प्रिमियर लिग (एनपीएल) को आइतबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्समाथि चितवन राइनोजले ३३ रनको महत्त्वपूर्ण जित हात पारेको छ ।
चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला ब्याटिङको निर्णय लिएका थिए । चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनायो ।
चितवनका लागि अफगान युवा ब्याटर हसन इसाखिलले सर्वाधिक ६५ रन बनाए । उनी अफगान लिजेन्ड मोहम्मद नाबीका छोरा हुन् । १६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १३१ रन बनाउँदा अलआउट भयो ।
चार खेलमा सुदूरपश्चिमको यो पहिलो हार हो । यसअघि लगातार तीन खेल जितेको सुदूरपश्चिममाथि जित निकाल्दै चितवनले चार खेलमा तेस्रो जित हात पारेको छ ।
चितवनको जितमा कुशल मल्ल, लोफ्टी इटन, अमर रौटेला र रिजन ढकालले दुई/दुई विकेट लिए ।
सुदूरपश्चिमका लागि इशान पाण्डेले ३५ रनको योगदान दिए पनि त्यसले टिमको हार टार्न सकेन । कप्तान दीपेन्द्रसिंह ऐरी फेल हुँदा सुदूरपश्चिमले पहिलो खेल गुमाएको हो ।
सुदूरको यो हारपछि अङ्कतालिकामा प्लेअफको दौड रोचक बनेको छ । हारे पनि सुदूर ६ अंकका साथ दोस्रो स्थानमा छ भने चितवन तेस्रो स्थानमा छ । कर्णाली याक्स चौथो स्थानमा छ । ८ अंक बनाएको जनकपुर बोल्ट्स भने प्लेअफमा पुगिसकेको छ ।
यसअघि चितवनका लागि अफगान युवा ब्याटर हसन इसाखिलले ६५ रन बनाएका थिए । १८ वर्षीय इसाखिल अफगान लेजेन्ड मोहम्मद नाबीका छोरा हुन् ।