धनगढी – सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले सामुदायिक विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीलाई प्रतिस्पर्धी बनाउने गरी योजना बनाइरहेको बताएका छन् ।
सनिबार धनगढीमा आयोजित कार्यक्रममा उनले सामुदायिक विद्यालयमा सरकार र सहयोगी सङ्घ संस्थाहरूको लगानी बढ्दै गए पनि सुधार हुन नसकेकाले व्यवस्थित गर्न जरुरी रहेको बताए । उनले भने, “हामीले थुप्रै काम गरिरहेका छौँ, सरकारी विद्यालय व्यवस्थित हुन नसक्नुको पछाडिको कारण खोजेर सचेत हुनुपर्ने बेला आएको छ ।”
मुख्यमन्त्री भट्टले विद्यालय स्थापना गर्नुभन्दा विद्यालयलाई व्यवस्थित बनाउनु ठूलो कुरा रहेकाले नेता, कर्मचारी, शिक्षकलगायत सबैले आ–आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउनुपर्नेमा जोड दिए ।
यदि हामीले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा पढाउन सक्दैनांै भने विद्यालयको गुुणस्तर बढ्दैन मुख्यमन्त्री भट्टले भने, “यहाँ त शिक्षक आफै पढाउने विद्यालयमा पनि आफ्ना छोराछोरीलाई नपढाउने गरेको भेटिन्छ ।”
सामुदायिक विद्यालयमा पढाउने शिक्षकहरूले आफैँले आफैँलाई विश्वास गर्न नसकिरहेको अवस्था रहेको मुख्यमन्त्री भट्टको भनाइ छ । विद्यार्थी बीच शिक्षण सिकाइ आदानप्रदान गर्ने उद्देश्यले सीमान्तकृत बालबालिकाको शिक्षामा सहयोग परियोजना (स्टेम) अन्तर्गत ब्याकवार्ड सोसाइटी एजुकेशन (बेस) ले आज एक दिन उत्सवको आयोजना गरेको हो ।
उत्सवमा विद्यार्थीले आफैले बनाएका हस्तकलाका सामग्रीहरू, वैज्ञानिक उपकरण लगायतका वस्तुहरू प्रदर्शन गरेर आफ्ना प्रतिभा प्रस्तुत गरेका छन । रासस