सुदूरपश्चिममा पाँच पदका लागि भएको उपचुनावमा ४ मा नेपाली कांग्रेस र १ मा नेकपा एमाले विजयी भएका छन् । कांग्रेसले चारवटै वडा अध्यक्ष पदमा जित हासिल गर्दा एमालेले भने उपाध्यक्षमा चुनाव जितेको हो ।
उपनिर्वाचन भएका पाँचमध्ये तीन पद (एक उपाध्यक्ष र दुई वडा अध्यक्ष) मा २०७९ को चुनावमा नेपाली कांग्रेस विजयी भएको थियो । यस्तै, नेकपा एमाले र माओवादी केन्द्रले भने एउटा/एउटा वडाध्यक्ष जितेका थिए । वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा भने एमाले र माओवादी केन्द्र पराजित भएका छन् ।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा २०७९ को स्थानीय तह चुनावमा कांग्रेस उम्मेदवार मैना जोशी निर्वाचित भएकी थिइन् । जोशीले १ हजार ८१० मत ल्याएर विजयी हुँदा एमाले उम्मेदवार सुलोचनाकुमारी भण्डारी बुढाले १ हजार ६३७ पाएकी थिइन् ।
जोशीको निधनपछि भएको उपनिर्वाचनमा जित निकाल्दै एमालले आफ्नो विरासत फिर्ता गरेको छ । २०७९ सालमा चुनाव हारेकी बुढाले यसपटक उपनिर्वाचनमा जित हात पारेकी छन् । उनी १ हजार ७४० मतसहित निर्वाचित भएकी हुन् । कांग्रेस उम्मेदवार पुल्तीसरा शाहीले १ हजार ४७४ मत पाइन् । नेकपा एकीकृत समाजवादीकी जवा शाहीले ५५३ पाएकी छन् । २०७४ सालको निर्वाचनमा त्यहाँ एमालेले जितेको थियो ।
उता बझाङको सुर्मा गाउँपालिका– ४ मा भने नेकपा एमालेबाट खोसेर नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । २०७९ सालको स्थानीय निर्वाचनमा एमाले उम्मेदवार सर्जन बोहरा वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । एमालेका बोहरा ६२९ मतसहित निर्वाचित हुँदा कांग्रेसका लोकबहादुर बोहराले ६०४ मत पाएका थिए । २०८० जेठमा वडाध्यक्ष बोहराको मृत्यु भएपछि उपनिर्वाचन हुँदा त्यहाँ नेपाली कांग्रेसका धीरेन्द्र पुजारा विजयी भएका छन् । पुजाराले ६ सय ५७ मत प्राप्त गरि विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लखिचन्द्र बोहराले ४ सय ८७ मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार पुष्कर बोहराले १७ मत मात्रै पाए ।
दार्चुलाको दुहुँ गाउँपालिका– ५ मा नेपाली कांग्रेसले माओवादी केन्द्रबाट वडाध्यक्ष पद खोसेको छ । २०७९ को स्थानीय निर्वाचनमा माओवादी केन्द्रका मनोरथ भट्ट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । उनको २०८० असारमा मृत्यु भएपछि उपनिर्वाचन हुँदा नेपाली कांग्रेसका धनसिंह कुँवर वडाध्यक्षमा विजयी भएका छन् । कुँवर ३७६ मत प्राप्त गरी विजय हुँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका मानसिंह बडालले ३५८ मत प्राप्त गरेका छन् । यस्तै, नेकपा माओवादी केन्द्रका वीरसिंह कार्कीले ९८ मत र स्वतन्त्र उम्मेदवार लालसिंह कुवँरले २५ मत प्राप्त गरेका छन् ।
डोटीको पूर्वीचौकी गाउँपालिका– ६ को वडाध्यक्षमा कांग्रेसका मोहन थापा निर्वाचित भएका छन् । थापा ४६८ मतका साथ निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका देव थापाले ३०१ मत पाएका छन् । नेकपा माओवादी केन्द्रका देवीलाल थापाले २६ मत पाउँदा रास्वपाकी जानकी खड्का कुँवरले ३१ मत पाएकी छिन् । १३ मत बदर भएको जनाइएको छ । २०७९ सालको निर्वाचनमा पनि त्यहाँ नेपाली कांग्रेस नै विजयी भएको थियो । कांग्रेसबाट निर्वाचित वडाध्यक्ष पुष्पराज जोशीको मंसिर २०७९ मा मृत्यु भएपछि त्यहाँ उपनिर्वाचन भएको हो ।
उता कञ्चनपुरको भीमदत्त नगरपालिका– ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्द विजयी भएका छन् । चन्द १ हजार १०७ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका बहादुर चन्दले ४ सय ८७ मत पाएका छन् । २०७९ सालको निर्वाचनमा पनि यो वडामा नेपाली कांग्रेस विजयी भएको थियो । वडा अध्यक्ष महेन्द्र खड्काको सवारी दुर्घटनामा परेर निधन भएपछि उपनिर्वाचन भएको हो ।