कैलालीको धनगढीमा राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव हुने भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीको आयोजनामा पुस ९ गतेदेखि १५ गतेसम्म शैक्षिक महोत्सव हुने भएको हो ।
आयोजकले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै सामाजिक रुपान्तरणका लागि शिक्षामा नयाँ अभियान भन्ने नाराका साथ हुने शैक्षिक महोत्सव धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा आयोजना हुने जानकारी दिएको हो ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीका अध्यक्ष भीम पडालले सुदूरपश्चिम प्रदेशको शिक्षा, खेलकुद, पर्यटन, स्टेशनरी, मसलन्द तथा छपाई व्यवसायको विकास तथा संस्कृतिको प्रवद्र्धनका लागि महोत्सव भईरहेको जानकारी दिए ।
‘नवौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवबाट यस क्षेत्रको शैक्षिक, आर्थिक एवम् सामाजिक विकासमा सकारात्मक प्रभाव पार्ने आशा लिएका छौं,’ उनले पत्रकार सम्मेलन भने, ‘महोत्सवले देशभरी छरिएर रहेका प्रकाशक, स्टेशनरी वितरक तथा मसलन्द सामाग्री र शिक्षासँग सम्बन्धित सम्पूर्ण सरोकारवालालाई एकीकृत गर्ने छ ।’
अध्यक्ष पडालका अनुसार महोत्सवमा एक सय ५० स्टल रहने छन । महोत्सवलाई दुई लाख दर्शकले अवलोकन गर्नुका साथै पाँच करोड बढीको कारोबार हुने अनुमान गरिएको उनले जानकारी दिए ।
महोत्सव आयोजन गर्न झण्डै दुई करोड खर्च हुने अनुमान गरिएको छ । पत्रकार सम्मेलनमा बोल्दै कैलाली उद्योग वाणिज्य संकघका अध्यक्ष पुष्पराज कुँवरले धनगढीमा हुने शैक्षिक महोत्सवलाई सबैले मिलेर सफल पार्नुपर्ने बताए । उनले कैलाली उद्योग वाणिज्य संघले पनि अन्य महोत्सवभन्दा फरक रुपमा आयोजना हुने शैक्षिक महोत्सवलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
महोत्सव अवलोकनका लागि विद्यार्थीलाई ५० टिकटदर राखिएको छ भने सर्वसाधारणलाई एक सय राखिएको छ । जेष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तीहरुलाई महोत्सवमा प्रवेश निशुल्कको व्यवस्था गरिएको छ ।
यसअघि २०६७ सालमा धनगढीमा राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव भएकोमा १४ वर्षपछि फेरि धनगढीमा आयोजना गर्न लागिएको हो ।