नेपाली सेनाले राष्ट्रिय सुरक्षा संवेदनशीलतालगायतका विषयमा सुदूरपश्चिमका पत्रकारलाई प्रशिक्षण दिएको छ। रेडियो, पत्रिका र अनलाइनमा आबद्ध नौ जिल्लाका १९ पत्रकारलाई प्रशिक्षण दिइएको हो।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले सुदूरपश्चिम पृतना हेडक्वार्टर तेघरी कैलालीमा पाँच दिनसम्म दिएको प्रशिक्षणको शुक्रबार समापन गरिएको छ ।
समापनमा बोल्दै पृतनापति प्रकाश देउजाले राष्ट्रको सुरक्षाका लागि सेना र पत्रकारबिचको सम्बन्ध सुमधुर हुनुपर्ने बताए ।
उनले राष्ट्रिय सुरक्षा संवेदनशीलतामा सेनाजस्तै पत्रकार पनि संवेदनशील हुनुपर्ने बताए। सेनाले करिब १५ वर्षअघिदेखि पत्रकारहरूका लागि रक्षा संवाददाता अभिमुखीकरण सुरु गरेको थियो।
अहिलेसम्म देशभरका पाँच सयभन्दा बढी पत्रकारलाई यो प्रशिक्षण दिइएको सेनाले जनाएको छ।
जहाँ नेपाली सेनाको इतिहास, राष्ट्रिय सुरक्षा नीति, सूचनाको हक, कम्ब्याट फोर्स, शान्ति स्थापनामा नेपाली सेनाको भूमिका, सैनिक कल्याणकारी कोष, भौतिक पूर्वाधार निर्माणमा सेनाको भूमिका, विपत् व्यवस्थापन, सीमा सुरक्षा, अन्तर्राष्ट्रिय अनुभव र पत्रकार आचारसंहितालगायतका विषयमा प्रशिक्षण दिइएको थियो।
प्रशिक्षणकै क्रममा स्थलगत अध्ययनका लागि कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पुगेको पत्रकारहरूको टोलीलाई रुद्रध्वज गणमा प्रकृति संरक्षणमा नेपाली सेनाको भूमिकाबारे जानकारी गराइएको थियो