नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनमा कुनै समस्या नभएको बताएका छन् ।
नेपाल प्रेस युनियन डडेल्धुराले जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले लिखित सहमतिअनुसार अहिलेको गठबन्धन २०८४ सालसम्म नै चल्ने दाबी गरे ।
‘सुरुको दुई वर्ष एमाले र त्यसपछि कांग्रेस नेतृत्वमा सरकार सञ्चालन गर्ने सहमति छ,’ उनले भने, ‘सोही सहमतिअनुसार सरकार अगाडि बढ्छ ।’
सभापति देउवाले २०८४ सालको प्रतिनिधिसभा निर्वाचनमा आफू लड्ने/लड्ने विषयमा डडेल्धुराका नागरिकलाई सोध्नुपर्ने बताए । २०८४ को निर्वाचन पनि तपाईंले नै लड्नुहुन्छ भन्ने पत्रकारको प्रश्नमा मुस्कुराउँदै देउवाले भने, ‘मलाई भोट हाल्नेलाई सोध्नुस् ।’
देउवाले सुदूरपश्चिमको राजधानी डडेल्धुरा सार्छु भनेर यसअघि पनि आफूले आश्वासन नदिएको दाबी गरे ।
‘पहाडमा पूर्वाधारको अभाव भएका कारण राजधानी बनाउन समस्या भएको हो भनेर बोलेको हुँ,’ उनले भने, ‘राजधानी नै सार्छु भनेको छैन । डडेल्धुराभन्दा बरु डोटीका लागि कुरा भएको हो ।’
प्रतिनिधिसभा निर्वाचनको ठीकअगाडि २७ वैशाख २०७९ मा तत्कालीन प्रधानमन्त्रीसमेत रहेका देउवाले गृहजिल्ला डडेल्धुरामा राजधानीको विषय उठाएका थिए ।
‘कोहीकोहीले केही गरेनन्, प्रदेश राजधानीसमेत डडेल्धुरा बनाइएन भनेर कुरा गरिरहेको मैले सुनेँ,’ देउवाले भनेका थिए, ‘त्यो समयमा यहाँ एउटा ठूलो सभाहलसमेत थिएन । डोटीमा पनि थिएन । अनि कसरी यहाँ राजधानी तोक्नु ? त्यसैले कैलालीमा अस्थायी राजधानी तोकिएको हो । अबको बजेटमा योजनालाई प्राथमिकता दिएर यहाँको विकास गर्नुपर्छ । विकास भएपछि राजधानी सार्न सकिन्छ ।’
पत्रकार सम्मेलनमा देउवाले सहकारी ठगीमा संलग्न सबैलाई कारबाही हुने बताए । उनले सहकारीपीडितको रकम फिर्ताका लागि पनि सरकारले काम गरिरहेको दाबी गरे ।