छठको अवसरमा विशेष रौनक छाउने तराई मधेशका जिल्लाहरूमा यस वर्ष पनि सो पर्वको तयारी भइरहेको छ । छठलाई मधेशको सबभन्दा ठूलो पर्वको रूपमा पनि लिइन्छ ।
छठलाई लक्षित गरि कैलाली मोहनाघाटलाई चिटिक्क सिँगारिँदै छ । ग्रामिण क्षेत्रमा पनि छठ पर्वको घाट निर्माणको लागि पोखरी, नदीको किनारा तथा जलासय क्षेत्रमा युवाहरू सरसफाईदेखि घाट निर्माणमा जुटेका छन् ।
मंगलबारदेखि विधिवत रूपमा सुरु हुने छठ चार दिनसम्म चल्नेछ । पहिलो दिन व्रतालुहरू स्नान गरी शाकाहारी तथा शुद्ध भोजन गर्छन्- जसलाई ‘नेहाइ खाइ’ भन्ने गरिन्छ ।
यसलाई अरबा– अरबाइन पनि भनिन्छ । खरनाका दिन ब्रतालु महिलाहरू दिनभरी ब्रत बसी साँझमा सूर्यको पूजा गरी सख्खर मिलाएको गम्हरीको खिर र रोटी आदि खान्छन् ।
त्यसपछि ब्रतालुहरूले निराहार ब्रत सुरु गर्छन् । बिहीबार अस्ताउँदो सूर्यलाई र शुक्रबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि उक्त व्रत समाप्त हुन्छ ।
मंगलबार साँझ जलाशयमा नुहाएर ठकुवा, भुसवा (चामलको पीठो र सख्खरको लड्डु), ऊखु, नरिवल, बेसारको बोट, निम्बु, केला सहित मिष्ठानलाई बाँसले बनाइएको ढकिया, नाङ्लो, सुपती आदिमा राखेर नदी, पोखरी,नहरको छेउमा अस्ताउँदै गरेको र त्यसको भोलिपल्ट उदाउँदै गरेको सुर्यको (अर्घ दिइने) पुजा गरिन्छ ।
छठमा शुद्धता र सावधानीमा विशेष जोड दिइन्छ ।दुई दिनसम्म व्रत बस्नुपर्ने भएकाले पनि यसलाई कठिन पर्वका रूपमा लिइन्छ । पहिलो दिन नुहाई खाइ, दोस्रो खरना, तेस्रो दिन अस्ताउदै गरेको चौथो दिन उदाउँदै गरेको सूर्यलाई अर्घ दिएसँगै छठ पर्वको समाप्ति हुन्छ ।
छठ पर्व मनाउने महिला वा पुरुष व्रतालुले औँसी तिथि लागेसँगै माछामासु वामनसाहारी भोजन त्याग गर्छन् । तिहारको चौथौ दिन नित्य कर्मपछि व्रत बस्नेहरू लसुन, प्याज, उसिना चामलको भातबाहेक शुद्ध शकाहारी खाना, खीर दुध केरा खान्छन् ।
पञ्चमी तिथिमा दिनभरि निराहारपछि रातिमा गर्ने पूजा र फलाहार गर्छन् । यस दिनलाई खर्ना भनिन्छ । षष्ठीका दिन व्रत बस्नेहरूले अन्नजल खाँदैनन् ।
बिहानै देखि छठका लागि परिकारहरू भुस्वा, टकुवा, लड्डुलगायतका परिकार तयार पारिन्छ । करिब ४० घण्टा सम्म निराहार व्रत बसेकाहरूले घण्टौँसम्म पानीमा उभिएर अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिन्छन् ।
केही दशकअघि तराईमा मनाइने यो पर्व पछिल्लो समय काठमाडौंसहित पहाडी जिल्लाहरूमा पनि विस्तार हुन थालेको छ । काठमाडौंमा पनि विस्तारै छठको रौनक बढ्न थालेको छ ।
छठ प्रकृति पूजाका साथै एकता र अस्थााको पर्व भएकोले यसको लोकप्रियता बढ्दै गएको राजनीतिक विश्लेषक रोशन जनकपुरी बताउँछन् । पण्डित, पुरोहित, मन्त्रबिना तथा आडम्बरमुक्त र शुद्धताको प्रतीक यो पर्व रहेकाले पनि यसको लोकप्रियता बढ्दै गएको उनको तर्क छ ।
पुत्र प्राप्ति, पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकामना पूरा होस् भन्ने कामनाले श्रद्धालुहरूले यो पर्व मनाउँदै आएका छन् । चैतमा पनि छठ मनाउने गरिन्छ । तर, कात्तिकमा पर्ने छठको रौनक भने विशेष रहने गरेको छ ।
छठ पर्वका कारण बजारमा चलहपहल पनि बढेको छ । कपडा, माटोका भाडा, बासबाट बनेका सामग्रीको माग बढेको छ । खाद्यन्न, चिनी, पिठो, खाने तेलको पनि माग बढेको व्यापारीहरू बताउँछन् । छठमा केरा, सुन्तला, स्याउलगायत फलफूल माग बढ्ने गरेको छ ।