नेपाली कांग्रेसका युवा नेता लोकराज पाण्डेय (आगो) ले ‘राष्ट्रिय सरसफाइ अभियान’ अन्तरगत बुधबार कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थीत स्याउले बजारको सार्वजनिक शौचालयमा सरसफाइ गरेका छन् ।
पाण्डेले असोज ९ गते जन्मदिनको अवसरमा सार्वजनिक शौचालय सरसफाइ गर्ने उद्देश्यले ‘राष्ट्रिय सरसफाइ अभियान’ मार्फत पशुपतिनाथ मन्दिरको शौचालयमा सरसफाइ गरेर यस्तो अभियान सुरु गरेका थिए ।
‘सरसफाइ नै मानव सभ्यताको प्रमुख आधार हो भन्ने उद्देश्यले यो अभियान सुरु गरिएको उनले बताए । यस अभियान अन्तरगत प्रत्येक हप्ताको बुधवारको दिनको २ घण्टा सार्वजनिक शौचालय सार्वजनिक विद्यालय, मठ मन्दिरहरूमा जनचेतना फैलाउँदै आफै गएर सार्वजनिक शौचालयहरूको सरसफाइ गर्ने गरेको उनले बताए ।
यस अघि अत्तरियाको बसपार्क, बजार क्षेत्र लगायतका शौचालय सरसफाइ गरिसकेका उनी शौचालयमा प्रयोग गरिने फिनाइल, ब्रस, बाल्टिन, डस्टविन लगायतका सामग्री सहित स्याउले पुगेका थिए ।
उनले हप्ताको बुधवार आफु जुनै ठाउँमा पुगेको भए पनि त्यहाँ नै सरसफाइ गर्ने बताए । सार्वजनिक शौचालयको अवस्था र सरसफाइको विषयलाई सरकारले पनि महत्वका साथ हेर्नुपर्ने उनको भनाई छ ।
आजको सरसरफाइ कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष गोविन्द चौधरी,स्याउले बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल देउवा सहित व्यवसायी तथा स्थानीयले पनि उनलाई सहयोग गरेका थिए ।