अत्तरिया -गोदावरी नगरपालिकाले सुदूरपश्चिमकै प्रमुख धार्मिक पर्यटकीय क्षेत्र गोदावरीलाई प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यका साथ डीपीआर तयार गर्ने योजना अघि सारेको छ । गोदावरी नगरपालिकाका प्रमुख हरिसिंह साउँदले गोदावरी क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न नगरपालिका अघि बढिरहेको बताउनुभएको हो । नगरप्रमुख साउँदले गोदावरी क्षेत्रका पर्यटकीय क्षेत्रहरुको विकासका लागि अल्पकालिन र दिर्घकालिन योजना अगाडि सारेको बताए ।
अहिले आवश्यक कानून नबनिसकेकाले काम अगाडि बढ्न नसकेको बताउँदै उनले कानून बन्ने वित्तिकै नगरपालिका क्षेत्रका विभिन्न पर्यटकीय क्षेत्रहरुको विकासका लागि काम सुरु हुने बताए । उनले सुदूरपश्चिमको प्रमुख पर्यटकीय क्षेत्रका रुपमा रहेको गोदावरी धामको विकासका लागि गुरुयोजना बनाउने योजना रहको बताए । उनले यहाँको बिकासको लागि बतासे डाँडाबाट केबुलकार निर्माणका लागि आफूले पहल थालेको बताए । ‘गोदावरी क्षेत्रलाई थप विकास गर्न बतासे डाँडाबाट गोदावरी धामसम्म केबुलकार बनाउनुपर्छ,’ उनले भने, ‘यो काठमाडौंकै चन्द्रागिरी शैलीकै बनाउन सकिन्छ, यसका लागि प्रदेश र केन्द्रमा कुरा पनि उठाइरहेको छुँ ।’ उनले बतासे डाँडामा पनि मन्दिर निर्माण गरिने बताए ।
गोदावरी धाम कैलालीको मात्रै नभई प्रदेशकै स्रोत भएकाले यसको विकासका लागि प्रदेश सरकारले पनि पहल थाल्नुपर्ने मा उनको जोड छ । केबुलकारलगायत बनाएर गोदावरी धामको विकासका लागि केन्द्रबाटै बजेट पर्ने गरि पहल गर्नुपर्ने उनको भनाई छ । नगरप्रमुख साउँदले पर्यटकीय क्षेत्र गोदावरी धामको विकाससंगै लामिताल र बालउद्यानलाई पनि प्राथमिकतामा राखेको बताए । उनले तालमा डुंगा सञ्चालन र बाल उद्यानमा स्विमिङपुल बनाउने कार्य अगाडि बढाइने जानकारी दिए
पर्यटकीय क्षेत्र भल्का र नायल तालको विकासका लागि पनि डीपीआर बनाउने योजना नगरपालिकासंग रहेको नगरप्रमुख साउँदले बताए । ‘नगरपालिका भित्र रहेका पर्यटनको सम्भावना बोकेका क्षेत्रहरुको विकासलाई नगरपालिकाले प्राथमिकतामा राखेको छ,’ उनले भने , ‘आवश्यक कानून बनेपछि ती पर्यटकीय क्षेत्रको विकासका लागि काम सुरु गर्छौं ।’
सुदूरपश्चिमको प्रदेशद्वाराकै रुपमा रहेकोे गोदावरी नगरपालिकाको अत्तरिया बजारको सरसफाईका लागि पनि काम भइरहेको नगरप्रमुख साउँले बताए। ‘अहिले पनि बजार क्षेत्रमा जथाभावी फोहोर फालिने गरिएको छ, त्यसलाई व्यवस्थापन गर्छौं,’ उनले भने, ‘एडीबीकै परियोजनामा पनि लागू छ, नगरपालिकाले पनि आफ्नोतर्फबाट काम गरिरहेको छ ।’ त्यसअवसरमा नगरप्रमुख साउँले अहिले दोस्रो नगरसभाले पास गरेका योजनाहरुलाई कार्यान्वयन गरिरहेको जानकारी दिए । उनले कतिपय योजना सम्पन्न गरिएको, केही कार्यान्वयनकै चरणमा रहेको केही डीपीआर बनाउनेक्रममै रहको जानकारी दिए ।
सभार - सुदुरसन्देश दैनिक