सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कानूनलाई सघाउन अदालत आएको बताएका छन् ।
प्रहरीले म्याद थपका लागि कास्की जिल्ला अदालत ल्याएपछि रविले यस्तो प्रतिक्रिया दिएका हुन् । अदालत प्रवेश गर्नुअघि सञ्चारकर्मीसँग लामिछानेले भने, ‘केपी ओलीको सरकार रहिरहने हो भने यो देशले धेरै दुःख पाउँछ।’
उनले अहिलेको सरकारलाई अधिनायकवादी सरकार भन्दै देशभरका जनतालाई सडकमा निस्किन अपिल समेत गरे।
‘त्यसकारण यो अधिनायकवादी सरकारका विरुद्धमा देशैभरीबााट जो जो जहाँ जहाँ हुनुहुन्छ, मेरो लागि होइन देशका लागि बाहिर निस्कन पर्ने बेला आउन सक्छ। म सबैलाई अपिल गर्न चाहन्छु,’ लामिछानेले भने, ‘फेरि पनि भन्न चाहन्छु, सम्पूुर्ण न्यायप्रेमी दाजुभाइ दिदीबहिनीहरू, यो सरकार रहुञ्जेलसम्म यस्तै हर्कत गरिराख्छ उसले। झुटा मुद्दामा मान्छेलाई फसाउने काम निरन्तर चलिरहन्छ।’
साथै, लामिछानेले ओलीले भ्रष्टाचारीलाई संरक्षण गरेर राखेको दाबी पनि गरे। उनले आफूलाई जस्तै छानबिन ओलीलाई गर्ने हो भने सबैभन्दा बढी भ्रष्टाचारको जगमा उभिएको फेला पर्ने पनि दाबी गरे।
‘भ्रष्टाचारीलाई संरक्षण गरेर, सारा सहकारी पीडितहरू आफ्नो पार्टीभित्र पालेर, भ्रष्टाचारको जगमा उभिएर अर्कालाई ठग भनेर झुटा मुद्दा लगाउने हो भने, मलाईजस्तै डेढ वर्ष लगाएर केपी ओलीलाई छानबिन गर्ने हो भने सबैभन्दा बढी भ्रष्टाचारको जगमा उभिएको मान्छे केपी ओली हो। देशको प्रधानमन्त्री हुनुमा दुर्भाग्य छ,’ लामिछानेले भने।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा लामिछानेलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरेर शनिबार बिहान पोखरा ल्याइएको थियो ।त्यसपछि उनलाई आज म्याद थपका लागि अदालतमा पुर्याइएको हो ।
आइतबार दिउँसो १ बजेर २० मिनेटमा लामिछानेलाई अदालत पुर्याउँदा बाहिर बाहिर रास्वपा कार्यकर्ताले नाराबाजी गरेका थिए ।