सहकारी ठगी प्रकरणमा काठमाडौंबाट पक्राउ परेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कास्की पुर्याइएको छ ।
शुक्रबार साँझ पक्राउ परेका रविलाई स्थलमार्ग हुँदै आज बिहान प्रहरी कार्यालय कास्की पुर्याइएको हो ।
लामिछानेलाई कास्की पुर्याएर स्वास्थ्य परीक्षणगरी जिल्ला प्रहरी कार्यालय कास्कीको जिम्मा लगाइएको सीआईबीले जनाएको छ ।
आज बिहान ३ बजे लामिछानेलाई कास्की प्रहरी कार्यालय पुर्याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी बसन्त शर्माले जानकारी दिए ।
उनका अनुसार आज शनिबार बिदा भएकोले आइतबार मात्रै उनलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइने छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले हिजो बेलुका काठमाडौंबाट पक्राउगरी राति नै स्थलमार्गबाट पोखरा लगेको थियो ।
कास्की जिल्ला अदालतले पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएपछि लामिछाने पक्राउ गरिएको थियो ।
लामिछानेलाई स्थलमार्ग हुँदै पोखरा पुर्याउँदा रास्वपाका नेता तथा कार्यकर्ताले सडक मार्गका ठाउँ ठाउँमा नाराबाजी गरेका थिए ।
रास्वपा सभापति लामिछानेमाथि गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत मिडियामा लगेर अपचलन गरेको आरोप लागेको छ ।
उनलाई संसदीय छानबिन विशेष समितिले समेत सहकारी बचत अपचलन गरेको निष्कर्ष निकाल्दै अनुसन्धान गर्न सिफारिश गरेको थियो ।
गोरखा मिडिया नेटवर्कका अर्का सदस्य छविलाल जोशी बञ्जाडे झण्डै एक महिनादेखि प्रहरी हिरासतमा छन् ।
लामिछानेले सहकारी ठगीमा आफूले संसदीय छानबिन समितिबाट ‘क्लीन चिट’ पाएको दाबी गर्दै आएका थिए ।