डडेलधुरा कि आरती भट्टराईको हत्या अमानवीय भएको सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र सिंह रावलले बताएका छन् ।
डडेल्धुराको अमरगढी नगरपालिका–७ पोखरामा भएको घटना बारे बुझ्न सोमबार डडेल्धुरा पुगेका रावलले जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव उपरिक्षक (डिएसपी) शुगन्ध श्रेष्ठबाट जानकारी लिएका हुन् ।घटनाका बारेमा बुझ्दै उनले किशोरी हत्याको घटनालाई अमानवीय भएको बताए ।
डिएसपी श्रेष्ठका अनुसार गत शुक्रबार राती पोखरा बजार नजिक अमरगढी नगरपालिका –७ सिरला बस्ने मनराज भट्टराईकी १४ बर्षकि छोरी आरती भट्टराईको शव फेला परेको थियो ।
घटनाको आशंकामा स्थानिय ५८ बर्षका टेक भण्डारीलाई प्रहरीले पक्राउ गरेको थियो। डिएसपी श्रेष्ठका अनुसार र भण्डारीले हत्या गरेको स्वीकार गरिसकेका छन । उनी जिल्ला प्रहरी कार्यालयको हिरासतमा अनुसन्धानकै क्रममा रहेका छन ।
रावलले जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा संक्षिप्त रूपमा कुराकानी गर्दै यस घटनालाई सक्दो चाँडो टुङ्ग्याउन समेत अनुरोध गरे । पीडित घर परिवार प्रति समवेदना व्यक्त गर्दै रावलले आरोपित माथि निर्मम भएर अनुसन्धान प्रक्रिया अगाडि बढाउन आग्रह गरे।
नेकपा एमाले प्रदेश संसदिय दलका नेता समेत रहेका रावलले कुनै पनि राजनीतिक आग्रह तथा पूर्वाग्रहमा नपरेर यस घटनाका विषयमा नागरिकहरूमा संशय पैदा भएकोले प्रहरीले आम नागरिकलाई विश्वस्त हुनेगरी काम गर्ने बेला भएको बताए ।
प्रहरी नायव उपरीक्षक श्रेष्ठले बलात्कार पछि हत्या गरेको हो अथवा कुनै अन्य कारणबाट हत्या गरिएको हो भन्ने बारेमा प्रहरीको अनुसन्धान र अस्पतालको पोष्टमार्टमको रिपोर्टका आधारमा अझै प्रष्ट हुने जानकारी दिए ।