संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले आफुले पाएको पदको सम्मान हुनेगरी काम गर्ने बताएका छन् ।
बैतडीबाट निर्वाचित सांसद समेत रहेका भण्डारीले आइतबार बैतडीको मेलौली स्थीत एमालेले आयोजना गरेको सुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पदसँग नेता कार्यकर्ता र मतदाताको रगत,पसिना जोडिएकाले सबैको अभिभारा पुरा गर्नेगरी काम गरिरहेको बताए।
उनले सरकारलाई सफल बनाउनका लागि सबै नेता कार्यकर्ताहरुलाई सहयोग गर्न आग्रह गरे।जनताको आग्रहमा आएका योजना कार्यान्वयन गरिने मन्त्री भण्डारीको भनाई छ । पार्टीको सिफारिसका योजनामा पनि जनताको योजना जोडिएको छ की छैन भनेर परिक्षण गरेर मात्रै कार्यान्वयन गरिने उनले बताए।
मन्त्री भण्डारीले माओवादी अध्यक्ष पुष्पमकल दाहाल प्रचण्ड नेतृत्वको निवर्तमान सरकारले एकलौटी ढंगबाट बजेट ल्याएको दाबी गरे।प्रचण्ड नेतृत्वको सरकारले एमालेसँग कुनै समन्वयन नगरी बजेट पारित गरेको उनको जिकिर छ ।
‘विगतको सरकारमा म पनि सहभागि थिए, तर म आवद्ध पार्टी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कुनै समन्वयन हुने गरेको थिएन, मैले अघि सारेका योजनाहरु कटौती गरिए,’ उनले भने । चालु आर्थिक वर्षका योजनाहरु पनि परिमार्जन गरेर कार्यान्वयन गरिने उनको भनाइ छ ।
उत्पादनका क्षेत्रमा बजेट ल्याउनुपर्नेमा मन्त्री भण्डारीले जोड छ ।
‘अहिलेसम्म कति सडक पुगे ? सडकको कति उपयोग भयो ? यसमा ध्यान दिनुपर्छ । बजेटले प्रतिफल दिएन भने यसको के अर्थ ? त्यसैले कुनैपनि योजनाले परिणाम दिनैपर्ने हुन्छ, उनले भने ।’
उत्पादन वृद्धि गर्ने र रोजगारी सृर्जना गर्नेगरी विकास निर्माणका योजना ल्याउनुपर्नेमा मन्त्री भण्डारीको जोड छ ।