डोटीमा भीरबाट लडेर एक महिला को मृत्यु भएको छ । जोरायल गाउँपालिका-४ थलीकी एक महिलाको बिहान भीरबाट लडेर मृत्यु भएको हो ।
कैलालीको चौमाला बाट जोरायल गाउँपालिका-४ थलीस्थित घरमा दशै मान्न जाने क्रममा शुक्रबार बिहान साढे आठ बजेतिर ३७ वर्षीया भावना पुन मगरको भीरबाट लडेर मृत्यु भएको हो ।
उनी आफ्नो श्रीमान प्रेम पुन मगर “पवित्र” र छोरीछोरीसङ्गै दशैं मनाउन चौमालाबाट गाडी रिजर्भ गरेर पहाडको घर हिडेकी थिइन् ।
घटना हुँदाका बखत श्रीमान र छोरी केही दुरी अगाडि हिडिसकेको र छोरा पछाडी बिच बाटोमै आफन्त पर्ने सुरज रोक्काको घरमा रोकिएका थिए ।
आफ्नो दिदीले घर पुग्न नपाउदै लडेर मृत्युवरण गरेको मृतकका भाइ सबिन पुन मगरले जानकारी दिए ।
जोरायल गाउँपालिका-४ गणेशाल भन्ने ठाउँभन्दा माथी उकालो चढ्ने क्रममा लडेर करीव ४० मिटर जति तल कच्ची सडकमा खस्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
उनको घाटी र अनुहारमा चोट लागेको घटनास्थलमा रहेका उनका आफन्तहरुले जानकारी दिएका छन् ।
घटनाबारे थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय विपिनगर इन्चार्ज प्रहरी निरीक्षक खेम बिक्रम केसीको कमान्डमा टोली घटनास्थल गएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
यही असोज-४ गते पनि सोही ठाउँमा हिडिरहेकै बेला लडेर जोरायल गाउँपालिका-४ नकुकी ३४ वर्षीया रोहिता बोहराको पनि मृत्यु भएको थियो।