कैलालीको गोदावरी नगरपालिकामा आजदेखी हात्तिपाईले रोगको जाँच शुरु गरिएको छ । गोदावरी नगरपालिका वडा नम्बर १,३ र ४ नम्बर वडामा मापदण्ड बमोजिमका घरमा हात्तिपाईले रोगको जाँच हुन लागेको हो ।
त्यस्तै वडा नम्बर ८,९ र १२ नम्बर वडामा पनि जाँच हुने छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र हेटौंडा मकवानपुर र स्वास्थ्य कार्यालय कैलालीको आयोजनामा हात्तिपाईले रोगको जाँच हुन लागेको हो ।
यो जाँच देशभरमै पहिलोपटक कैलाली,मोरङ,बाँके र दाङ जिल्लामा सुरु गरिएको हो । कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्रको टोलीले एक वडाबाट एक सय पाँच नमुना संकलन गर्नेछ ।
त्यसका लागि फरकफरक दुरीमा नमुना संकलनका लागि माथील्लो निकायबाटै घर तोकिएको कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र हेटौंडाका ल्याब असिस्टेन्ट दिपक शाहले बताए ।
महिला स्वयसेविकाको सहयोगमा सबैकोे प्रतिनिधित्व हुने गरी तोकिएको घरमा गई टोलीले त्यस घरका व्यक्तिको रगतको नमुना हात्तिपाईले रोग परिक्षणका लागि संकलन गर्नेछ ।
कैलालीका १३ स्थानीय तहलाई “क” र “ख” गरी दुई भागमा विभाजन गरिएको छ । “क” मा गोदावरी ,मोहन्याल,चुरे, बर्दगोरीया,गौरीगंगा लगायत ७ पालिका रहेका छन् भने “ख” मा धनगढी,टिकापुर,लम्कीचुहा लगायतका ६ स्थानीय तह रहेका छन् ।