नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो बिधार्थी सँगठन अनेरास्ववियु (क्रान्तिकारी)लाई सडकको बाघ भएर निस्कन निर्देशन दिएका छन् ।
बिहीबार त्रिभुवन विश्वविद्यालयमा आयोजित अनेरास्ववियु (क्रान्तिकारी)को २३औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले नयाँ योजना र कार्यक्रमको संकल्पसहित सडकको बाघ भएर निस्कन निर्देशन दिएका हुन् ।
‘पछिल्लो राजनीतिक अवस्था सामान्य छैन, निकै जटिल हुँदै गएको छ । प्रतिक्रियावादी शक्तिहरूले प्राप्त उपलब्धिमाथि प्रहार गरिराखेका छन् । त्यसमा विदेशी शक्तिहरूले चलखेल गरिरहेका छन् । सम्पूर्ण संकटको सामना गर्ने सामर्थ्य वामपन्थी तथा विशेष गरी माओवादी शक्तिमा छ’, विद्यार्थीलाई निर्देशन दिँदै उनले भने, ‘यो जटिल परिस्थितिको सामना गर्न तपाईँहरूको साथ भएमा केही महिनाभित्रै परिस्थिति उल्टिछ । तपाईँ सडकको बाघ हुनुहोस् र म संसदमा सिंह भएर निस्किएको छु । तपाईँको साथ भएमा हामी जित्छौँ ।’
सरकारमा रहँदा आफूले भ्रष्टाचारविरुद्ध अभियान छेडेकै कारण सत्ता छाड्नुपरेको उनले दाबी गरे ।
‘इतिहासमा यतिधेरै हाइप्रोफाइविरूद्ध कहिले कारबाही भएको थिएन । भूमाफियाविरुद्ध अभियान छेडेकै हो । सामाजिक न्यायको क्षेत्रमा अभियान चलाएकै हो । बिचौलिया, दलाल पुँजीवादीविरूद्ध जिहाद छेडेकै हो । यही कारणले हामीलाई सरकार छाड्न बाध्य पारेकै हुन्,’ उनले भने।
उनले माओवादीलाई जनतामा जान दिएकोमा कांग्रेस र एमालेलाई धन्यवाद समेत दिए । ‘अहिले वामपन्थी शक्तिलाई समाप्त गर्न प्रतिक्रियावादी शक्तिहरूले निकै षड्यन्त्र गर्दैछन् । त्यसको प्रतिवाद गर्न सम्पूर्ण वामपन्थीहरू एक ठाउँमा आउनेछौँ । तपाईँ सडकको बाघ भएर निस्कनोस् । म संसदमा सिंह भएर निस्केको छु । केही समयभित्रै वामपन्थी एकताको नयाँ समाचार सुन्न पाउनुहुनेछ’, विद्यार्थी संगठनलाई निर्देशन दिँदै उनले भने ।