सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सङ्घीय सरकारले प्रदेशको अधिकार प्रत्यायोजनमा गरेमा प्रदेश सरकार बलियो हुने बताए ।
संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिका संयोजक समेत रहेका मुख्यमन्त्री शाहले बिहीबार धनगढीमा आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन । केन्द्रीकृत मानसिकताका कारण अधिकार प्रत्यायोजन नगरिएको उनको गुनासो छ । उनले अधिकार नहुँदा नै प्रदेशको विकासमा समस्या भइरहेको बताए।
उनले भने, “सङ्घीय सरकारले प्रदेशका अधिकार पूर्णरुपमा प्रत्यायोजन नगर्दासम्म जनताको अपेक्षाअनुसार काम गर्न कठिन हुन्छ ।” मुख्यमन्त्री शाहले केन्द्रीकृत र एकात्मक शासन व्यवस्थाको स्थानमा सङ्घात्मक शासन प्रणाली यो संविधानको महत्त्वपूर्ण उपलब्धि भएको बताए।
साझा शासन र स्वशासनको उचित तालमेल मिलाइ सहकारिता सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको दिगो व्यवस्थापन गर्न वर्तमान संविधानले दिशानिर्देश गरेकाले त्यसको कार्यान्वयनका लागि सबैको योगदान हुनुपर्ने बताए ।
उनले सकारात्मक प्रयास र प्रयत्नका गरिरहँदा पनि नागरिकको अपेक्षालाई ठोस रूपमा सम्बोधन गर्न नसकिएको स्वीकार गरे । उनले सुदूरपश्चिम जनताका विकासको चाहनाअनुसार सरकार काम गर्ने प्रतिबद्धता जनाए ।
सो कार्यक्रममा प्रदेश प्रमुख नजिर मियाँ, सभामुख भीमबहादुर भण्डारी, पूर्व मुख्यमन्त्री, मन्त्रीहरू, प्रदेश सभा सदस्यहरू सुरक्षा अधिकारी, निजामती कर्मचारीलगायतको उपस्थिति थियो ।