नेकपा (एमाले) का उप–महासचिव प्रदीप ज्ञवालीले माओवादीको ‘जादुयी नम्बर’ चल्न छाडेकाले उसका नेता, कार्यकर्ता बिछिप्त जस्तै बनेको बताएका छन् ।
केन्द्रीय स्कुल विभागको आयोजनामा सोमबार देखि महेन्द्रनगरमा सुरु भएको कञ्चनपुर जिल्ला स्तरिय प्रशिक्षक/प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै ज्ञवालीले ‘जादुयी नम्बर’ को बलमा माओवादीले कहिले कसैलाई, कहिले कसैलाई खेलाए पनि अब त्यो नम्बर खोटो भइसकेको बताए ।
‘माओवादीको खोटो सिक्का अब चल्न छाडिसक्यो,’ स्कुल विभाग प्रमुख समेत रहेका उनले भने, ‘त्यसैले प्रचण्डले घरी बंगलादेश बनाउछु, घरी श्रीलंका बनाउछु भन्दै धम्की दिइरहेका छन् । हिजो त्यत्रो सेना हुँदा त सकेनन् ।’
ज्ञवालीले माओवादी र काठमाडौंका मेयर बालेन शाहहरुको अराजकता तथा राजतन्त्रका पक्षधर र संविधान बिरोधीहरुको घेराबन्दी तोडेर २०८४ मा एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न कार्यकर्ताहरुलाई आब्हन गरे ।
‘पपुलिष्ट’ हरुले समाजमा अनेक भ्रमहरु सुजना गरिरहेका छन्, सकारात्मक भन्दा पनि नकारात्मक कुराको चर्चा गरी यी सबै काम पूराना पार्टीहरुले गरिरहेको अफवाह फैलाइएको छ,’ उनले कार्यकर्ताहरुलाई भने, ‘त्यस्ता भ्रमहरु चिर्दै, राम्रो कामको प्रचार गर्नुस् ।’
अस्थिरता फैलाउनेहरुको दोकान बन्द भइसकेको र देश बनाउने जिम्मेवारी एमालेको काधमा आएको ज्ञवालीले बताए । उनले मिसन ०८४ सफल पार्न अहिले देखि जनता माझ जान आब्हन गर्दै आगामी निर्वाचनबाट पार्टी निर्णायक राष्ट्रिय शक्ति हुने दाबी गरे ।
तीन दिने जिल्ला स्तरीय प्रशिक्षक/प्रशिक्षण कार्यक्रममा उप महासचिव तथा पार्टी स्कुल विभाग प्रमुख ज्ञवालीले ‘महाधिवेशनद्वारा पारित नीति, कार्यक्रम र कार्यदिशा’ बारे प्रशिक्षण दिए । केन्द्रीय स्कुल विभागका सचिव घनश्याम कोईरालाले ‘प्रशिक्षण व्यवस्थापन, प्रस्तुति सीप र शैली’ विषयमा प्रशिक्षण दिएका छन् ।
जिल्ला कमिटीका सदस्यहरुलाई प्रशिक्षकको रुपमा तयार गर्न प्रशिक्षण कार्यक्रम आयोजना गरिएको र प्रशिक्षणपछि नेताहरुलाई वडा तथा नगर स्तरिय प्रशिक्षण कार्यक्रममा पठाइने कार्ययोजना रहेको स्कुल विभाग सुदूरपश्चिमको संयोजन गरिरहेका पोलिटब्युरो सदस्य राजे रावलले जानकारी दिए । कार्यक्रममा १ सय ३९ जनाको सहभागिता छ ।