अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं ३ चौकीडाँडामा रहेको मालाखेती अस्पतालमा बिरामीहरुको संख्या घट्दै गइरहेको छ । स्थानिय सरकार अर्थात गोदावरी नगरपालिका मातहत रहेको यस क्षेत्रको ठुलो सरकारी अस्पतालको रुपमा रहेको मालाखेती अस्पतालको फितलो ब्यबस्थापनका कारण उपचार गराउने आउने बिरामीहरुको संख्या घट्दै गइरहेको हो ।
अस्पतालमा सामान्य सेवा सुबिधा बाहेक अन्य सेवा सुबिधा नहुदा अघिल्ला बर्षहरुको तुलनामा बिरामीहरुको संख्यामा कमी आएको छ । सरकारी अस्पतालमा राम्रो र सस्तो उपचार पाइन्छ भन्ने आशामा टाढा टाढा आएका बिरामीहरु सामान्य चेकजाँच बाहेको अन्य सेवा सुबिधा नपाउदाँ निजि क्लिनिकमा गएर उपचार गराउन बाध्य रहेका छन् । गोदावरी नगरपालिका वडा नं १० खमौराका स्थानिय कमल सिंह साउँदले आफु बिरामी हुदा एक्सरे गराउन अस्पतालमा पुगेपनि एक्सरे मेसिन बिग्रिएको भनि फर्काएको बताए ।
उनले निजि अस्पतालको तुलनामा केहि सस्तो होला भनेर सरकारी अस्पतालमा पुगेपनि एक्सरे गराउन निजि अस्पतालमै जानु परेको गुनासो गरे । उनले स्थानिय सरकार मार्फत अस्पताल संचालनमा रहेपनि ब्यबस्थापन कति पनि नभएको बताए । ब्यबस्थापन फितलो हुदा उपचारका लागि अस्पताल पुग्ने आफु जस्ता धेरै बिरामीहरुले सास्ती खेपिरहनु परेको उनले बताए । अस्पतालमा आउने बिरामीहरुको नाम दर्ता गर्ने काउन्टरका अनुसार पछिल्लो ६ महिनामा ठिक आधाले बिरामीहरुको संख्यामा कमी आएको छ । यस अघि दैनिक एक सय पचास देखी २ सय जना बिरामीहरु आउने गरेकोमा अहिले भने मुस्किलले ७० देखी ८० जना पुग्ने गरेका छन् ।
मालाखेती अस्पतालका एक जना कर्मचारीका अनुसार बिरामीले पाउनुपर्ने सेवा सुबिधाका अस्पतालमा उपकरण नहुदा उनीहरु यहाँ आउनुको सट्टा निजि क्लिनिकमा जाने गरेका छन् । पैसा र समय दुवैको खर्च गरेर अस्पतालमा पुगेपनि सामान्य बाहेक अन्य सेवा सुबिधा नपाएपछि बिरामीहरु यहाँ आउनुको सट्टा निजि क्लिनिकमा जाने गरेको उनको भनाई छ ।
अस्पताल परिसरमा अहिले सम्म शुद्ध पिउने पानीको समेत ब्यबस्था छैन । यो संगै एक बर्ष पहिले बिग्रीएको एक्सरे मेसिन बन्न सकेको छैन भने इमरजेन्सी सेवा , भिडियो एक्सरे , इसिजी सेवा , ल्याब टेस्ट लगाएका सेवा सुबिधा पनि अस्पतालमा छैनन् । मालाखेती अस्पतालका मे.सु डा. सिर्जना अधिकारीले अस्पतालको ब्यबस्थापनमा केहि कमीकमजोरी रहेको आफुहरुले पनि महशुस गरिरहेको बताइन् ।
उनले अहिले सम्पुर्ण हक अधिकार स्थानिय सरकार मातहत रहेकाले आफुहरुले सोचे अनुसारको काम गर्न नसकेको बताइन् । उनले एक बर्ष देखी बन्द अबस्थामा रहेको एक्सरे सेवा लगाएतका सेवाहरु अब छिट्टै सुचारु गर्न तर्फ आफुहरु लागि रहेको बताइन् । बिग्रिएको एक्सरे मेसिन बनाउन कम्पनीमा पठाएको बताउदै उनले मंसिरवाट यो सेवा सुचारु हुने बताइन् । यस्तै अन्य सेवा सुबिधाका लागि नगरपालिकासंग नियमित छलफल र कुराकानी भैरहेकाले अब मंसिर महिनादेखी अन्य सेवा सुबिधाले पनि गतिलिने बताइन् ।
गोदावरी नगरपालिका प्रमुख प्रशासकिय अधिकृत खेमराज बिष्टले अहिले अस्पतालको सेवा सुबिधाले बिस्तारै गति लिने बताए । बन्द अबस्थामा रहेको एक्सरे मेसिन बनाउन दिएमा अबको केहि दिनमा बन्ने र थप नयाँ डिजिटल एक्सरे मेसिन खरिद गर्ने निर्णय भएको उनले बताए । अस्पतालमा औषधि अभाव नरहेको बताउदै उनले ५ लाख बराबरको औषधि खरिद गरिसकेकाले केहि दिनमा अस्पतालमा पुग्ने बताए । उनले अहिले अस्पतालको सेवा सुबिधा कसरी चुस्त दुरुस्त बनाउन सकिन्छ भन्ने बिषयमा मालाखेती अस्पतालका चिकित्सक र नगरपालिका बिच छलफल भैरहेको बताए ।