एमालेका पूर्व उपाध्यक्ष डा. भीम रावलले आफैं एमाले नछाड्ने दोहर्याएका छन् । उनले बरु आफुलाई पार्टीले नै कार्बाही गरे नयाँ कदम चाल्न सजिलो हुने जिकिर गरे ।
गृह जिल्ला अछाम पुगेका नेता रावलले आज साँफेबगरमा प्रेस चौतारी नेपाल अछामले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै भने ,"अब म संग बोल्नै नहुने , म गएको ठाँउमा हिन्नै नहुने , मैले पानी खाएको धारामा खानै नहुने हो । यो मान्छे ले पार्टी छोडेकै राम्रो हुन्थ्यो भन्ने कसैलाई लागेको हो भने यो सन्देश बरु तपाईंहरुले पुर्याई दिनु होला । सबै उहाँहरु कै हातमा छ जिल्लामा लेख्ने पनि , प्रदेशमा लेख्ने पनि केन्द्रमा पनि सवै भन्दा राम्रो मलाई निकाल्दिनुहोस । त्यसपछि के गर्ने बरु गरौंला ।"
यस्तै रावलले नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने हल्लामा सत्यता नरहेको बताउँदै कार्यकर्ताको जनचाहाना र सुझाव अनुसार अघि बढ्ने उल्लेख गरेका छन् । उनले भने नेताहरू संग भेटघाट गर्ने कुरो सामान्य हो तर मेरो अहिले समाजबादीका कोहि नेता संग त्यस्तो भेट भएको छैन ।
देश र जनताको पक्षमा लाग्दा आउन सक्ने व्यवधानका बिषयमा आफू जानकार रहेकाले आफ्नो अडानमा अविचलित रहेको र त्यसै अनुसार चल्न पार्टी नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।
पार्टी बिचार शून्य अवस्थामा पुगेको भन्दै नेता रावलले आफू पार्टीको विधि,विधान र सिद्धान्तको पक्षमा बोल्दै आएको तर्फ सबैको ध्यानाकर्षण गराएका थिए ।
पार्टीबाट कार्वाहिको तयारी भईरहेको छ भन्ने सुनिन्छ नि भन्ने पत्रकारको प्रश्नमा उनले भने ‘पार्टीको सिद्धान्त जोगाउनु पर्छ,विधि विधान अनुसार पार्टी चल्नुपर्छ भन्ने मत राखेकै कारण आफूलाई कार्वाही गरिन्छ भने त्यो गरेर देखाउन ठाडो चुनौती दिन्छु ‘ पार्टीले चुनौतीको सामना गरे त्यसपछिको कदम त्यसपछि चालौँला ।
गेटा मेडिकल कलेजमा एमबिबिएस अध्यापनका लागि अनुमति नदिएर सुदूरपश्चिम माथि विभेदपूर्ण व्यवहार गरिएको भन्दै प्रति निन्दा व्यक्त गरेका थिए ।