अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्वबियुले कैलालीको गेटामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना अझै अन्यौल भएको भन्दै शिक्षा मन्त्रीको ध्यानाकर्षण गराएको छ ।
सोमबार अनेरास्वबियुले शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री बिद्या भट्टराईलाई भेटेर ध्यानाकर्षण बुझाएको हो ।
यस्तो छ ध्यानाकर्षण :
मितिः २०८१ भाद्र २४ गते
बिषयः ध्यानाकर्षण सम्बन्धमा ।
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटा स्थापनाको माग राख्दै सुदूरपश्चिमेली जनता लामो समय देखी संघर्षरत छन । स्वास्थ्य सुविधा र स्वास्थ्य शिक्षाको सर्वसुलभ उपलब्धताका दृष्टिले पछाडी पारिएको सुदूरपश्चिमका जनताले फेरि एक पटक राज्यबाट ठगिएको अनुभूति गरेका छन । सुदूरपश्चिमेली जनताहरु साधारण स्वास्थ्य उपचारका निम्ति पनि छिमेकि मुलुक भारतका लखनौ, बरेलि, खटिमा जस्ता शहरहरु त्यसैगरि नेपालगञ्ज, चितवन र काठमाडौं धाउनुपर्ने बाध्यता रहेको विषय सर्वविदितै छ ।
गेटा विश्वविद्धालयको निर्माण संगै सुदूरपश्चिम बासिहरुमा गुणस्तरीय स्वास्थ्य र शिक्षा पाउने आशा जगाएको थियो । राष्ट्रिय सभाबाट २०८० माघ २९ गते सर्वसम्मत पास भएको विधेयक प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा प्रारम्भिक छलफलको चरणमा प्रवेश गरेर अड्केको छ ।
समितिमा छलफल अगाडि नै दुईपटक समितिबाट स्थलगत भ्रमण गरि सरकारलाई सुझाव सहितको निर्देशन समेत दिएको थियो । राज्यले करिब ८ अर्बको लगानीमा करिब ६०० शैयाको हस्पिटल संचालन गर्न मिल्ने सुबिधा सम्पन्न भौतिक संरचनाहरु निर्माण भएका छन । एकातिर राज्यको व्यवास्थाका कारणले अरबौंका संरचना हरु खण्डहरमा रुपान्तरण हुने अवस्था निमर्माण भएको छ भने अर्को तर्फ सुपका जनतामा कतै राज्यले बिभेद गरेको त होइन भन्ने आशंका उत्पन्न गरेको छ ।
देशभरिमा सुदूरपश्चिम बाहेक ६ वटा प्रदेशमा २५ वटा मेडिकल कलेज र स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २१४० सिटमा सरकारले भर्ना खोलेको छ तर सुप प्रदेशको गेटा विश्वविद्धालय अझै अन्यौलको अबस्थामा रहेको कार्य प्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको छ ।