कैलालीको गेटामा बिश्वबिद्धालयको माग गर्दै संघर्षरत स्थानीय समितिले नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ । कैलालीला प्रमुख जिल्ला अधिकारी मार्फत समितिले सोमबार ज्ञापन पत्र बुझाएको हो ।
समितिका संयोजक लोकराज पाण्डे आगो को नेतृत्वमा सांकेतिक रूपमा डाक्टर को ड्रेस लगाएर बिद्यार्थी सहितका ब्यक्तिहरु जिल्ला प्रशासन कार्यालय कैलाली पुगेका हुन ।
"देश भरीमा पच्चिस भन्दा बढी मेडिकल कलेज प्रतिष्ठान सञ्चालन भइरहँदा यस प्रदेशमा एउटा पनि नहुनुमा राज्यको सुदूरपश्चिम प्रतिको हेर्ने हेपाहा दृष्टिकोण भएको हामीले ठहर गरेका छौं । हाम्रो एक मात्र धेय संघिय संसदको यहि अधिवेशनमा स्वास्थ्य, विज्ञान विश्व विद्यालय सम्वन्धि विधेयक पास गर्नुका साथै ६०० सैया भन्दा बढीको अस्पताल सञ्चालनका लागि बनाइएका संरचनामा ५० शैया सञ्चालन गरेर उक्त परियोजनालाई तुहाउने प्रयास भएको बुझाई भएको हुँदा तत्काल मेडिकल अध्ययन-अध्यापनका लागि आवश्यक पर्ने कम्तिमा ३०० शैयाको अस्पताल सञ्चालनका लागि हार्दिक आग्रह गर्दै चिकित्साशास्त्रको मूर्तरुप निर्माणमा पहल गरिदिनहुन समेत सादर आग्रह गर्दछौं ।" ज्ञापन पत्रमा भनिएको छ ।
यस्तो छ ज्ञापन पत्र :
मिति : २०८१/०५/२४
सम्माननीय प्रधानमन्त्री ज्यू नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरवार, काठमाण्डौं, नेपाल
विषय : ज्ञापन-पत्र ।
सुदूरपश्चिमका लाखौं जनताहरुको साझा सपनाको रुपमा रहेको कैलाली जिल्लाको गेटा स्थित शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय सिघ्र संचालनार्थ सुदूरपश्चिमेलीहरु स्वतः स्फुर्त रुपमा आन्दोलित भइरहेको व्यहोरा यहाँ समक्ष अवगत नै छ ।
संघिय राज्य सत्ताबाट पटक-पटक सुदूरपश्चिमेलीहरु प्रति गरिएको विभेद तथा अन्यायको शिलशिलाको रुपमा गेटा स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालनमा भइरहेको ढिलाईलाई हामिले बुझेका छौं । विगत लामो समयदेखि सुदूरपश्चिमका जनताहरुको चाहना बमोजिम शहीद दसरथ चन्द स्वास्थ्य विज्ञान विश्व विद्यालय स्थापनार्थ सघर्षमा होमिएको र फलस्वरुप नेपाल सरकारले मितिः २०७९/१०/२९ गतेको निर्णय कार्यान्वयन गराउनका लागि हामी संघर्ष समिति नै गठन गरेर आन्दोलनमा होमिएको ब्यहोरा अवगत गराउँदछौं । सुदूरपश्चिम प्रदेशमा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय नै स्थापना गर्ने भनी नेपाल सरकारले आफ्नो नीति तथा कार्यक्रममा विगतका आ.व.हरु देखी चालु आर्थिक वर्ष २०८१/०८२ मा समेत क्रमागत रुपमा बजेट विनियोजन गरेको र सुदूरपश्चिमका अधिकांश माननीय ज्यूहरुले समेत संघिय संसदमा उक्त विषयलाई प्रमुखताका साथ उठान गरेको तथ्य समेत सम्माननीय प्रधानमन्त्री ज्यूलाई अवगत भएको विषय नै हो।
यसै सन्दर्भमा स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालनार्थ विधेयक राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा छलफल पश्चात् शिक्षा, स्वस्थ्य तथा सूचना प्रविधि संसदीय समितिमा सशोधनका लागि पेस भइसकेको हप्तौं बित्दापनी पारितका लागि विधेयक अगाडि नबढ्दा जनमानसमा आक्रोस देखिएको हुँदा यही संसदीय अधिवेशनबाट पारित गराउनका लागि पहल कदमी समेत गरिदिन हुनका लागि हार्दिक अनुरोध गर्दछौं।
देश भरीमा पच्चिस भन्दा बढी मेडिकल कलेज प्रतिष्ठान सञ्चालन भइरहँदा यस प्रदेशमा एउटा पनि नहुनुमा राज्यको सुदूरपश्चिम प्रतिको हेर्ने हेपाहा दृष्टिकोण भएको हामीले ठहर गरेका छौं । हाम्रो एक मात्र धेय संघिय संसदको यहि अधिवेशनमा स्वास्थ्य, विज्ञान विश्व विद्यालय सम्वन्धि विधेयक पास गर्नुका साथै ६०० सैया भन्दा बढीको अस्पताल सञ्चालनका लागि बनाइएका संरचनामा ५० शैया सञ्चालन गरेर उक्त परियोजनालाई तुहाउने प्रयास भएको बुझाई भएको हुँदा तत्काल मेडिकल अध्ययन-अध्यापनका लागि आवश्यक पर्ने कम्तिमा ३०० शैयाको अस्पताल सञ्चालनका लागि हार्दिक आग्रह गर्दै चिकित्साशास्त्रको मूर्तरुप निर्माणमा पहल गरिदिन हुन समेत सादर आग्रह गर्दछौं ।
धर्मसिंह कुँवर सचिव
लोकराज पाण्डेय (आगो) संयोजक
(शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समिति)
बोधार्थः-
* शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरवार काठमाण्डौं-नेपाल
सुदूरपश्चिम प्रदेश, अत्तरिया-कैलाली
* स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सिंहदरवार काठमाण्डौं-नेपाल
* शिक्षा, विज्ञान तथा सूचना प्रविधि समिति प्रतिनिधि सभा, नेपाल