सुदूरपश्चिम प्रदेश सरकार चालु आर्थिक वर्षको बजेट तयारीमा जुटेको छ। प्रदेश सरकारले राजनीतिक दल, स्थानीय तह, सरोकारवालाहरु संगको सुझावसहित चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम पुस्तिका तयार गर्न लागेको हो।
प्रदेश सरकारले तयार पारिरहेको चालुआर्थिक वर्षको बजेटमा २५ लाख भन्दा कम रकमका योजना स्थानीय तहमा ससर्त अनुदानमा हष्तान्तरण गर्ने सोमबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो।
मुख्यमन्त्री कमल बहादुर शाहले आफ्नै निवासमा पत्रकार सम्मेलनको आयोजना गर्दै चालू आर्थिक वर्षका लागि तयार भईरहेको बजेटमा २५ लाख भन्दा कम रकमका योजना नराख्ने, प्रदेश सरकारले कार्यान्वयन गर्ने कुनै पनि योजना उपभोक्ता समिति माफर्त नगर्ने बताएका छन्।
‘प्रदेश सरकारले कार्यान्वयन गर्ने कुनै पनि योजना टेन्डरबाट हुन्छ, उपभोक्ता समितिमार्फत काम गराईदैन’ मुख्यमन्त्री शाहले भने। मुख्यमन्त्री शाहले २५ लाख भन्दा कम रकमका योजना बनाउनै पर्ने बाध्यता भएमा कार्ययोजना सहित ससर्त अनुदानका रुपमा स्थानीय तहलाई वित्तिय हस्तान्तरण गरिने बताए। यसअघि प्रदेश सरकारले ३ लाखका पनि योजना बनाएका उदाहरणहरु छन्।
सरकारका आर्थिक मामिला मन्त्री, सामाजिक विकास मन्त्री सहितलाई राखेर मुख्यमन्त्री शाहले गरेको पत्रकार सम्मेलनमा कुनै ब्यक्ति, समुह, संस्था, नीजि फर्म, कम्पनी र सहकारीलाई तोकेर पनि बजेट नबनाउने बताएका छन्। यसअघिका सरकारका पालामा कम्पनी, सहकारी मात्रै होईन ब्यक्तिगत फर्महरुमा तोकेरै बजेट हालिएको थियो।
भ्रष्टाचारमा सुन्य सहनशीलता अबलम्बन गर्ने प्रदेश सरकारको नीति भएको भन्दै मुख्यमन्त्री शाहले बजेट बनाउनु अघि नै सबै मन्त्रालयहरुलाई यस्तो निर्देशन दिइसकेको बताए।