धनगढी - पछिल्लो समय खेलकुदका गतिविधिहरु बढ्दै गएको धनगढीमा पूर्वाधार थपिने क्रम जारी छ । धनगढी क्षेत्रीय रंगशालामा भौतिक संरचनाहरू थपिएसँगै पूर्वाधार निर्माणले गति लिन थालेको छ । रंगशालामा थप एउटा प्याराफिट निर्माण कार्य सुरु हुँदा बहुउद्देश्यीय कभर्डहल निर्माणाधीन अवस्थामा छ ।
८९ लाखमा निर्माण हुँदै प्याराफिट
रंगशाला निर्माणका लागि ८९ लाख ४५ हजार रुपैयाँ लागतमा नयाँ प्याराफिट निर्माण सुरु गरिएको हो । जसमा दुई हजारजना अट्ने क्षमता छ । गत २५ फागुनमा भएको निर्माण सम्झौताअनुसार प्याराफिट निर्माणको काम १५ महिनाभित्र सम्पन्न हुने क्षेत्रीय खेलुकद विकास समितिका अध्यक्ष लालबहादुर शाहले जानकारी दिए ।
मैदानको उत्तर–पूर्व्तिर नयाँ प्याराफिट बन्न लागेको हो । रंगशालामा दुई हजारजना अट्ने र एक हजार दुई सयजना अट्ने गरी दुईवटा प्याराफिट कायम छ । जसमा एक हजार दुई सयजना अट्ने प्याराफिट भिआइपीका लागि हो ।
बढ्दो दर्शक चाप
पछिल्लो समय ठूला प्रतियोगिता हुन थालेपछि दर्शकको चाप बढ्दै गएकाले नयाँ प्याराफिट थप गर्न लागिएको हो । गत माघमा भएको मोफसलको सर्वा्धिक धनराशिको प्रतियोगिताका रूपमा रहेको खप्तड गोल्डकपमा प्याराफिटको समस्या हुँदा अस्थायी प्याराफिट निर्माण गर्नुपरेको थियो ।
अस्थायी प्याराफिटमा समेत नअटाएपछि दर्शकले मैदानमै बसेर खेल हेरेका थिए । ‘ठूला प्रतियोगिताहरूमा प्याराफिटको क्षमताभन्दा बढी दर्शकको भिड हुने भएकाले अस्थायी प्याराफिट बनाउनुपर्ने अवस्था छ,’ क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रेमबहादुर मल्लले भने, ‘नयाँ प्याराफिट बनेपछि दर्शकलाई सहज हुनेछ ।’ त्यस्तै, रंगशालाभित्र बहुउद्देश्यीय कभर्डहल निर्माण पनि भइरहेको छ । आठ करोड लागतको यो योजना अर्को वर्ष सक्ने लक्ष्य रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक सिंहले जानकारी दिए ।
सबै खेलको अभ्यास एउटै हलमा
बहुउद्देश्यीय कभर्डहल बनेपछि विभिन्न खेल सञ्चालनमा सहज हुने सिंह बताउँछन् । अहिले एउटा बहुउद्देश्यीय कभर्डहलमा सबै खेल सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ । कराते, तेक्वान्दो, ब्याडमिन्टन, जिम्न्यास्टिक, उसु, बक्सिङ, टेबुलटेनिसलगायत खेलहरू एकै ठाउँमा गर्नुपर्दा खेलाडीलाई समस्या भइरहेको छ ।
धेरै खेलका प्रशिक्षण एकै हलमा हुने भएकाले व्यवस्थापनमा निकै समस्या रहेको ब्याडमिन्टनका प्रशिक्षक मेघराज खडायतले बताए । यसले खेल अवधि छोटो बनाउनुपर्ने बाध्यतासँगै एक–अर्को खेललाई ‘डिस्टर्ब’ हुने गरेको उनले बताए ।
सबैजसो खेलको प्रशिक्षण साँझ–बिहान हुने गर्छ । ‘सिक्ने अधिकांश विद्यार्थी हुने भएकाले साँझ–बिहान नै खेलहरू गराउनुपर्छ,’ उनले भने, ‘एकै हलमा सबै खेलहरू गर्दा अभ्यास अवधिसमेत छोट्याउनुपर्ने बाध्यता छ ।’
समय र ठाउँको अभाव हुन थालेपछि ब्याडमिन्टनको प्रशिक्षण दिउँसो राखिएको खडायतले बताए । खेलाडीको चाप बढ्दै जाँदा एउटै हलले धान्न नसक्ने अवस्था रहेकाले नयाँ कभर्डहल निर्माणको काम जतिसक्दो चाँडो सम्पन्न गर्नुपर्ने माग खेल प्रशिक्षकहरूको छ । छैटौँ राष्ट्रिय खेलकुदपछि धनगढी रंगशालामा खेल पूर्वाधारहरू नथपिँदा समस्या बढ्दै गएको थियो । नया पत्रिका दैनिकवाट साभार