कैलालीमा ९ लाख बढीको भन्सारी छलीको सामान प्रहरीले बरामद गरेको छ ।
प्रहरीले जिल्लाका विभिन्न स्थानमा अन्दाजी ९ लाख ५८० मूल्य बराबरको अवैध भन्सारी छलीको समान फेला पारेको हो ।
मंगलबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त टोलीले धनगढी उपमहानगरपालिका-१७ पटेलालगायत जिल्लाका विभिन्न स्थानमा रहेका भारतीय नाकाहरुबाट भन्सार छली ल्याएको सामान बरामद गरेको जनाएको छ ।
सुट, भाइरल सारी, विभिन्न ब्रान्डका सारी, राधेराधे गम्छा, चेक गम्छा, कुर्ती, धोती, मोबाइलका विभिन्न पाटपुर्जाहरु, मोबाइल मर्मत गर्ने मेसिन, घडी, टर्च लाइट, पावर बैंक, पेटिकोट र साइकल लगायतका सरसामान, लत्ताकपडाहरु बेवारिसे अवस्थामा फेला पारी बरामद गरी त्रिनगर भन्सार कार्यालय कैलाली पठाइएको कैलाली प्रहरीले बताएको छ ।